Section 103
कसुर
(१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत जारी गरिएको नियम, विनियम, निर्देशन, आदेश वा शर्त वा सीमा विपरीत हुने गरी देहायको कुनै काम कारबाही गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछः– (क) इजाजतपत्र नलिई बैंकिङ्ग तथा वित्तीय कारोबार गरेमा, (ख) गलत वा झुट्टा विवरण दिई बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र लिएमा, (ग) बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्रको शर्त सीमा विपरीत हुने गरी बैंकिङ्ग तथा वित्तीय कारोबार गरेमा, (घ) इजाजत विना विदेशी विनिमय सम्बन्धी कारोबार गरेमा, (ङ) यस ऐन विपरीत कर्जा प्रवाह वा अन्य लगानी गरेमा, (च) कर्जा प्रवाह गर्दा, धितो मूल्याङ्कन गर्दा, कर्जा असुली गर्दा वा सोसँग सम्बन्धित कुनै पनि कार्यमा अनियमितता गरेमा, धितोमा लिएको सम्पत्ति लिलाम बिक्री गर्दा वा गैर बैंकिङ्ग सम्पत्तिको रुपमा सकार गर्नु पर्दा वा गैर बैंकिङ्ग सम्पत्ति सकार गरी बिक्री गर्दा धितो लिँदा गरिएको मूल्याङ्कन बनावटी मूल्यमा गरेमा, (छ) गाभ्दा गाभिदा, प्राप्ति गर्दा, खारेजी गर्दा वा लेखापरीक्षण गर्दा कुनै सञ्चालक, पदाधिकारी, कर्मचारी तथा अन्य व्यक्तिले अनियमितता गरेमा, (ज) खण्ड (क) देखि (छ) सम्मको कसुर गर्न उद्योग गर्ने वा त्यस्तो कसुर गर्न कुनै किसिमले मद्दत पु¥याएमा । (२) उपदफा (१) बमोजिमको कसुर हुँदाका बखत आफ्नो पदमा बहाल रहेको सञ्चालक, पदाधिकारी वा कर्मचारी वा कसुरमा सहयोग गर्ने अन्य कुनै व्यक्ति समेतले त्यस्तो कसुर आफ्नो सहमति बिना भएको वा त्यस्तो कसुर हुन नदिन आफूले भरमग्दुर प्रयास गरेको कुरा प्रमाणित गरेको अवस्थामा बाहेक त्यस्तो कसुर निज स्वयंले गरेको मानिनेछ । (३) विदेशी बैंकको शाखाको कुनै पनि पदाधिकारी वा कर्मचारीले शाखाको नियमित कारोबारको सिलसिलामा बाहेक त्यस्तो शाखाको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, सोको स्वीकृति दिएमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछ ।