Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले विद्युत ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “विद्युत विकास विभाग” भन्नाले ऐनको दफा ३६ बमोजिमको जलविद्युत विकास इकाईको काम गर्न उर्जा मन्त्रालय अन्तर्गत रहेको विद्युत विकास विभाग सम्झनु पर्छ ।
(ग) “सचिव” भन्नाले उर्जा मन्त्रालयको सचिव सम्झनु पर्छ ।
(घ) “सर्वेक्षण” भन्नाले विद्युत उत्पादन, प्रसारण तथा वितरणको लागि गरिने सर्वेक्षणको कार्य सम्झनु पर्छ र सो शब्दले सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य र त्यसको लागि गरिने अन्वेषणको कार्य समेतलाई जनाउँछ ।
(ङ) “विद्युतको उत्पादन, प्रसारण वा वितरण” भन्नाले विद्युतको उत्पादन, प्रसारण वा वितरणसँग सम्बन्धित संरचनाहरुको निर्माण, संचालन तथा मर्मत सम्भार सम्झनुपर्छ ।
(च) “वितरण क्षेत्र” भन्नाले विद्युत वितरणको अनुमति पत्रमा उल्लेख गरिएको क्षेत्र सम्झनु पर्छ ।
(छ) “वायरिङ्ग” भन्नाले ग्राहकको घर, कम्पाउण्ड, कारखाना वा यस्तै अन्य कुनै ठाउँमा विद्युत आपूर्तिको लागि गरिने विद्युत सामग्री जडानको कार्य सम्झनु पर्छ ।
(ज) “यूनिट” भन्नाले एकहजार वाटको विद्युत शक्ति एक घण्टासम्म संचालन हुँदा खपत हुने विद्युत उर्जा सम्झनु पर्छ ।
(झ) “उर्जामापक यन्त्र” भन्नाले विद्युतको खपत भएको यूनिट देखाउने यन्त्र ( मिटर) सम्झनु पर्छ ।
(ञ) “भूयोजन (अर्थिङ्ग)” भन्नाले विद्युत शक्तिबाट हुने खतरालाई हटाउन निश्चित गहिराईमा तार लगी जमिनसँग जोड्ने कार्य सम्झनु पर्छ ।
(ट) “प्रतिष्ठान” भन्नाले विद्युतको उत्पादन, प्रसारण, रुपान्तर वा वितरण गर्ने उपकरण, सामग्री तथा प्रणालीको समष्टिगत रुपलाई जनाउनेछ ।
(ठ) “महानिर्देशक” भन्नाले विद्युत विकास विभागको महानिर्देशक सम्झनु पर्छ ।