विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा—
(क) “विदेशी राज्य” भन्नाले नेपालसंग कुटनैतिक सम्बन्ध भएको विदेशी राज्यलाई सम्झनु पर्छ ।
(ख) “नियोग” भन्नाले विदेशी राज्यले नेपालमा कुटनैतिक कार्य सम्पादन गर्न राखेको नियोगलाई सम्झनु पर्छ ।
(ग) “नियोग प्रमुख” भन्नाले विदेशी राज्यले आफ्नो नियोगको प्रमुखको हैसियतले काम गराउन नेपाल सरकारको स्वीकृति लिई राखेको व्यक्तिलाई सम्झनु पर्छ ।
(घ) “कुटनैतिक कर्मचारी” भन्नाले नियोगको कुटनैतिक पदमा रहेको नियोगको कर्मचारीलाई सम्झनु पर्छ ।
(ङ) “कुटनैतिक प्रतिनिधि” भन्नाले नियोग प्रमुख वा नियोगको कुटनैतिक कर्मचारीलाई सम्झनु पर्छ ।
(च) “प्रशासकीय तथा प्राविधिक कर्मचारी” भन्नाले नियोगको प्रशासकीय तथा प्राविधिक काम गर्ने नियोगको कर्मचारीलाई सम्झनु पर्छ ।
(छ) “कामदार कर्मचारी” भन्नाले नियोगको आन्तरिक काम गर्ने नियोगको कर्मचारीलाई सम्झनु पर्छ ।
(ज) कुटनैतिक प्रतिनिधिको सम्बन्धमा “परिवार” भन्नाले नियोग प्रमुख वा नियोगको कर्मचारीको गृहस्थीको भाग भै निजको साथ र आश्रयमा रहेको निजको परिवारको सदस्यलाई सम्झनु पर्छ ।
(झ) “नियोगको घर र हाता” भन्नाले जोसुकैको स्वामित्वको भए पनि नियोगको प्रमुखको आवास लगायत नियोगको कुनै काममा प्रयोग गरिएको घर वा त्यसको कुनै भाग र त्यसले चर्चेको जग्गा समेतलाई सम्झनु पर्छ ।
(ञ) “निजी सेवक” भन्नाले विदेशी राज्यद्वारा वहाल नभएको तर नियोगको कुनै सदस्यको घरायसी काम गर्ने निजी सेवकलाई सम्झनु पर्छ ।