विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कसूर” भन्नाले दफा ४ बमोजिमको कसूर सम्झनु पर्छ ।
(ख) “फरार अभियुक्त वा कसूरदार” भन्नाले विदेशी राज्यमा कुनै कसूरको आरोप लागी वा कुनै कसूरमा सजाय पाई नेपालमा रहे बसेको वा नेपालमा कुनै कसूरको आरोप लागी वा कुनै कसूरमा सजाय पाई विदेशी राज्यमा गई बसेको अभियुक्त वा कसूरदार सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले नेपाल सरकार, गृह मन्त्रालय सम्झनु पर्छ ।
(घ) “माग गर्ने राज्य” भन्नाले फरार अभियुक्त वा कसूरदारको सपुर्दगीको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने विदेशी राज्य सम्झनु पर्छ ।
(ङ) “सपुर्दगी” भन्नाले माग गर्ने राज्यको अनुरोधमा फरार अभियुक्त वा कसूरदारलाई त्यस्तो राज्य समक्ष सुम्पिने कार्य सम्झनु पर्छ र सो शब्दले फरार अभियुक्त वा कसूरदारलाई नेपालको अनुरोधमा सम्बन्धित विदेशी राज्यले नेपाल समक्ष सुम्पिने कार्य समेतलाई जनाउँछ ।
(च) “सपुर्दगी सन्धि” भन्नाले फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्न सकिने गरी नेपालले कुनै विदेशी राज्यसँग गरेको सन्धि सम्झनु पर्छ र सो शब्दले सपुर्दगीको प्रयोजनको लागि भएको समझदारी समेतलाई जनाउँछ ।