दफा १६
पारिवारिक निवृत्तभरण वा उपदान
(१) महासचिव वा सचिवले आफ्नो परिवारका सदस्यहरूमध्ये कसैलाई इच्छाएको भए त्यस्तो व्यक्तिलाई र त्यस्तो इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा कसैलाई पनि नइच्छाएकोमा निजको परिवारका सदस्यहरूमध्ये नजिकको हकवालालाई देहायका आधारमा दफा १५ बमोजिमको निवृत्तभरण दिइनेछ ः-
(क)   पदमा बहाल छँदै महासचिव वा सचिवको मृत्यु भएमा मृत्यु भएको मिति देखि सात वर्षसम्म,
(ख)   दफा १५ बमोजिम निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सो सात वर्ष पुग्न बाँकी अवधिसम्म ।
(२) पदमा बहाल छँदै महासचिव वा सचिवको मृत्यु भएमा र दफा १५ बमोजिम निवृत्तभरण पाउने नभई उपदान मात्र पाउने रहेछ भने सो उपदान रकम निजको परिवारका सदस्यहरूमध्ये उपदफा (१) बमोजिमको निवृत्तभरण पाउने व्यक्तिले पाउनेछ ।
(३) उपदफा (१) बमोजिमको पारिवारिक निवृत्तभरण पाउने अवधि भुक्तान भइसकेपछि मृत महासचिव वा सचिवको विधवा पत्नी वा विधुर पतिले जीवनभर त्यस्तो निवृत्तभरणको आधा रकम लिन पाउनेछ ।
तर त्यस्तो व्यक्तिले आफूले गरेको सरकारी सेवा बापत निवृत्तभरण पाइरहेको भएमा यस उपदफा बमोजिमको निवृत्तभरण पाउने छैन ।
(४) बहालवाला महासचिव वा सचिवको पारिश्रमिक वृद्धि हुँदा खाईपाई आएको पारिश्रमिकमा जति वृद्धि भएको छ, त्यसको दुई तिहाइ रकम उपदफा (१) र (३) बमोजिम पारिवारिक निवृत्तभरण पाइरहेको व्यक्तिले खाइपाई आएको पारिवारिक निवृत्तभरणमा पनि थप गरिनेछ ।