दफा ३१
अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी सम्बन्धी व्यवस्था
(१) विश्वविद्यालयमा आवश्यक सङ्ख्यामा अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी रहनेछन्‌।

(२) उपकुलपतिले विश्वविद्यालयको आफ्नै स्रोतबाट व्यहोर्ने गरी अध्यापक, अनुन्धानकर्ता तथा कर्मचारी नियुक्त गर्नेछ।

(३) विश्वविद्यालयका अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी नियुक्तिको लागि सिफारिस गर्न परिषद्ले एक पदपूर्ति समिति गठन गर्नेछ।

(४) उपदफा (३) बमोजिमको पदपूर्ति समितिको कार्यविधि तोकिए बमोजिम हुनेछ।

(५) विश्वविद्यालयलाई आर्थिक भार नपर्ने गरी कुनै दाताले विश्वविधालयको नाममा तोकिए बमोजिमको रकम बराबरको अक्षयकोष खडा गरी कुनै विधा विशेषमा ख्यातिप्राप्त स्वदेशी वा बिदेशी विशिष्ट विद्वानलाई विश्वविधालयको प्राज्ञिक वा अनुसन्धान कार्यमा योगदान गराउन चाहेमा परिषद्को सहमति लिई उपकुलपतिले त्यस्ता व्यक्तिलाई दाता वा दाताले इच्छाएको व्यक्तिको नाम जोडिएको इन्डाउड प्राध्यापक वा विभागीय प्रमुखको हैसियतमा नियुक्त गर्न सक्नेछ।

(६) विश्वविद्यालयको प्राज्ञिक वा अनुसन्धान कार्यमा लामो समयसम्म समर्पित भई विशिष्ट योगदान गरेका स्वदेशी: वा विदेशी वरिष्ठ प्राध्यापकलाई आवश्यकता अनुसार परिषद्को - स्वीकृतिमा तोकिए बमोजिमको प्रक्रियाबाट उपकुलपतिले विशिष्ट (इमेरिट्स) प्राध्यापकको रूपमा सम्मान प्रदान गर्न सक्नेछ।

(७) ज्ञानको कुनै विधा विशेषमा विशिष्ट: क्षमता वा अनुभव भएका स्वदेशी वा विदेशी विज्ञ वा विद्वानलाई विश्वविद्यालयको आवश्यकता अनुसार तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उपकुलपतिले आगन्तुक प्राध्यापक वा कार्यानुभवी प्राध्यापकको रूपमा नियुक्त गर्न सक्नेछ।