दफा ४५
अनुगमन गर्न सक्ने
: (१) सुरक्षित सदस्य संस्थाले पेश गरेका निक्षेप तथा कर्जा सुरक्षण सम्बन्धी कागजातको सत्यता प्रमाणीकरणको आवश्यकता देखेमा कोषले सम्बन्धित सुरक्षित सदस्य संस्थामा गई सो सम्बन्धमा स्थलगत अनुगमन गर्न सक्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि कोषले त्यस्तो सुरक्षित सदस्य संस्थाको वित्तीय विवरण, तथ्याङ्क, सूचना, निक्षेप र निक्षेपकर्तासंग सम्बन्धित कागजातहरु तथा सुरक्षित सदस्य संस्थाको वार्षिक सुरक्षण शुल्क गणनाको सत्यता र मूल्याङ्कन, निक्षेप र निक्षेपकर्ताहरुको तथ्याङ्क सञ्चयका साथै  निक्षेप सुरक्षण योजनाको सर्वसाधारणमा वास्तविक सूचना प्रवाह गरे नगरेको बारे अनुगमन गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम सत्यता प्रमाणीकरणको लागि स्थलगत अनुगमनको सिलसिलामा कोषको तर्फबाट खटिएको अधिकारीले माग गरेको विवरण वा जानकारी उपलब्ध गराई अनुगमनको कार्यलाई सहयोग पुर्याउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ ।
(४) कोषले सुरक्षित सदस्य संस्थाको उपदफा (१) बमोजिम अनुगमन गर्ने भएमा सोको जानकारी नेपाल राष्ट्र बैङ्कलाई दिनु पर्नेछ ।
(५) नेपाल राष्ट्र बैङ्कले गर्ने सुरक्षित सदस्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षणमा कोषको समेत संलग्नता रहन आवश्यक देखिएमा कोषले त्यस्तो स्थलगत अनुगमनमा कोषको कर्मचारी समेत संलग्न गराउन नेपाल राष्ट्र बैङ्कसमक्ष अनुरोध गर्न सक्नेछ ।
(६) उपदफा (५) बमोजिम कोषबाट अनुरोध भई आएमा नेपाल राष्ट्र बैङ्कले सुरक्षित सदस्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षणमा कोषको कर्मचारीलाई सहभागी गराउनेछ ।