नियम
अनुशासन कायम गर्ने सम्बन्धी व्यवस्था

(१) नेपाली सेनामा अनुशासन कायम गराउन सैनिक प्रहरीले देहाय बमोजिम गर्न सक्नेछः–
(क) नेपाली सेनाका व्यक्तिको संलग्नतामा अवैध कार्य हुने सम्भावित स्थानहरु पत्ता लगाई त्यस्ता स्थानमा पैदल र मोवाइल गस्तीद्वारा अवैध कार्य नियन्त्रण गर्ने,
(ख) नेपाली सेनाका शङ्कास्पद व्यक्तिहरु उपर आवश्यक निगरानी राख्ने,
(ग) व्यारेक बाहिर सैनिक व्यक्तिहरुको घण्टे आउट, बिदाको प्रमाणपत्र, परिचयपत्र, टर्न आउट जाँच गर्ने,
(घ) सैनिक इलाकाभित्र आवत जावत गर्ने सवारी साधन, व्यक्ति वा सामानको जाँच गर्ने,
(ङ) सैनिक ऐन नियमको उलङ्घन गर्ने, अनुशासनहिन कार्य गर्ने, नेपाली सेनाको छविमाथि नराम्रो असर पार्ने वा सेनाको गोपनीयता भंग गर्ने जस्ता कार्य गर्ने सैनिक व्यक्तिलाई कार्यरथी विभागको विभागीय प्रमुखको आदेशले पक्राउ गर्ने,
(च) नेपाली सेनाका व्यक्तिद्वारा लागू औषध बेचबिखन, सैनिक हातहतियार वा सामानको बेचबिखन सेनाको गोप्य खबर तथा
कागजपत्र हिनामिना तथा प्रचलित कानून विपरीत काम कारबाही भए गरेको शङ्का लागेमा प्रचलित कानून बमोजिम खानतलासी लिने र कब्जा गर्ने ।
(२) उपनियम (१) को खण्ड (ङ) बमोजिम पक्राउ गर्दा पक्राउ पर्ने नेपाली सेनाका व्यक्तिलाई पक्राउ गर्नु परेको कारण सहितको सूचना दिनु पर्नेछ । यसरी पक्राउ गरिएको नेपाली सेनाका व्यक्तिलाई पक्राउ भएको ठाउबाट बाटाको म्याद बाहेक चौबीस घण्टा भित्र कार्यरथी विभाग (प्राड विवाक) मार्फत कार्यरथी समक्ष उपस्थित गराउनु पर्नेछ र कुनै पनि नेपाली सेनाका व्यक्तिलाई सो कार्यरथीको आदेशले बाहेक सो अवधि भन्दा बढी थुनामा राखिने छैन ।
(३) उपनियम (१) को खण्ड (ङ) र उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अपराध गरेको वा अपराध गर्न लागेको अवस्थामा कार्यरथी विभागका विभागीय प्रमुखले सेनाका सकल दर्जालाई, सैनिक प्रहरी अधिकृतले आफू भन्दा माथिको अधिकृतसम्मलाई, पदिक सैनिक प्रहरीले प्रमुख सुवेदारसम्मलाई र अन्य दर्जाका सैनिक प्रहरीले गण स्टाफसम्मका सैनिक व्यक्तिलाई पक्राउ गर्न सक्नेछन् ।