दफा २९
अन्तिम नतिजा प्रकाशन
(१) आयोगले सङ्घीय निजामती सेवामा पदपूर्तिका लागि उम्मेदवारको छनौट सम्बन्धी परीक्षामा सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि सबैभन्दा बढी अङ् प्राप्त गर्ने उम्मेदवारको रोल नम्बर, नाम, थर, ठेगाना र सिफारिस गरिएको निकाय समेत उल्लेख गरी योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम अन्तिम नतिजा प्रकाशन गर्दा खुला र समावेशी तर्फ विज्ञापन भएको पदको हकमा पहिले खुला र त्यसपछि समावेशी तर्फको नतिजा प्रकाशन गर्नु पर्नेछ र यसरी नतिजा प्रकाशन गर्दा उम्मेदवारले प्राप्त गरेको कूल प्राप्ताङकको आधारमा एकिकृत योग्यताक्रमसमेत प्रकाशन गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा तोकिए बमोजिमको सङ्ख्यामा वैकल्पिक उम्मेदवारको सूची र अन्तर्वार्तामा छनौट हुन नसकेका न्यूनतम उत्तीर्णाङग प्राप्त गरेका उम्मेदवारमध्ये तोकिएको सङ्ख्यामा अस्थायी उम्मेदवारको सूची प्रकाशन गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको वैकल्पिक सूची प्रकाशन भएको मितिले एक वर्षसम्म र अस्थायी सूची सोही पदको अर्को अस्थायी सूची प्रकाशन नभएसम्म कायम रहनेछ ।