नियम २७
उपभोक्ता समूहको गठन र दर्ता
(१) सामुदायिक वनको रुपमा वन व्यवस्थापन गर्न चाहने उपभोक्ताहरुले सम्बन्धित इलाका वन कार्यालय मार्फत वा सोझै जिल्ला वन अधिकृत समक्ष लिखित रुपमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा जिल्ला वन अधिकृतले यथाशक्य चाँडो प्राविधिक एवं अन्य सहयोग उपलब्ध गराउन प्राविधिक कर्मचारीलाई सम्बन्धित क्षेत्रमा खटाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम खटिएका कर्मचारीले स्थानीय निकाय समेतको सहयोग लिई उपभोक्ता समूह गठन गर्न र त्यसको विधान तयार गर्न उपभोक्ता समूहलाई सहयोग गर्नु पर्नेछ । उपभोक्ता समूहको विधानमा अन्य कुराहरुको अतिरिक्त अनुसूची–११ मा उल्लेखित कुराहरुको
सम्बन्धमा व्यवस्था गरिएको हुनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको विधान तयार गर्दा र विधान अनुसारको उपभोक्ता समूह गठन
गर्दा वडा, गाँउ, नगर तथा जिल्लाको सिमानाले असर नपार्ने गरी सर्वसम्मतिको आधारमा गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम पहिचान भएका उपभोक्ताहरुले उपनियम (४) बमोजिम तयार भएको विधानमा उल्लेख भए अनुरुप सम्पूर्ण उपभोक्ताहरु रहने गरी एक उपभोक्ता समूह गठन गरी उपभोक्ता समूहकोे विधान सहित अनुसूची–१२ बमोजिमको ढाँचामा सम्बन्धित इलाका वन कार्यालय मार्फत वा सोझै जिल्ला वन कार्यालयमा उपभोक्ता समूह दर्ता गराउन दरखास्त दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको दरखास्त दिने उपभोक्ता समूह त्यसको विधान अनुरुप गठन भएको देखिन आएमा जिल्ला वन अधिकृतले त्यस्तो उपभोक्ता समूहलाई दर्ता गरी ऐन, यस नियमावली तथा नेपाल सरकारले तोकिदिएको शर्तहरु पालन गर्न कबुलियत गराई अनुसूची–१३
बमोजिमको ढाँचामा प्रमाणपत्र दिनु पर्नेछ ।