नियम ३४
ऋण दिने प्रयोजन
ः
(१) यी नियमहरू अन्तर्गत समितिले आफ्नो क्षेत्र भित्रका बचत बुझाउने किसानलाई देहायको कुनै प्रयोजनको लागि ऋण दिनेछ । त्यस्तो किसानले प्रमाणपत्र पाएको रहेछ भने सो लिएको ऋण रकम प्रमाणपत्रमा जनाई दिनुपर्छ ।
(क) बीउ लगाउन,
(ख) खान,
(ग) खेतालालाई ज्याला दिन,
(घ) मल तथा कृषि औजार किन्न,
(ङ) मालपोत वा पानी पोत तिर्न,
(च) गोरू किन्न वा भाडामा लिन,
(छ) बिरामी भएको अवस्थामा साधारण उपचारको लागि,
(ज) बिहाबारीको निमित्त (रू. १५०।– सम्म),
(झ) काज क्रियाको निमित्त (रू. ५०।– सम्म),
(ञ) सिंचाइको निमित्त, बा“ध, पैन, कुलो बनाउन, इनार, पोखरी खन्न, मरमत गर्न वा पाइप वा पावर मिशिन किन्न,
(ट) टयाक्टर किन्न वा भाडामा लिन,
(ठ) कृषि विकासको लागि कृषिसँग सम्बन्धित उद्योग खोल्न वा व्यवस्था गर्न,
(ड) आफू मोही भै कमाएको जमीन खरीद गर्न ।
(२) काबु बाहिरको कारणले ऋण तिर्न नसकेकोमा बाहेक लिएको ऋण नतिर्ने व्यक्तिलाई ऋण चुक्ता नगरेसम्म पुन थप ऋण दिइने छैन ।
(३) साधारणतः मल, बीउ, औजार, गोरू, किटाणुनाशक औषधीको कामका लागि बाहेक अरू कामको लागि जम्मा गरेको बचत भन्दा बढी बिना धितो ऋण दिइने छैन ।
(४) समितिले उपनियम (१) बमोजिम दिएको ऋण र बचत संस्थाबाट प्राप्त रकमबाट वितरण भएको ऋण जुन उद्देश्य र कार्यको लागि दिइएको हो सोही उद्देश्य वा कार्यमा मात्र सो ऋणको प्रयोग गर्नु गराउनु पर्नेछ ।