दफा ३७
ओलम्पिक कमिटी
(१) अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र, उद्देश्य तथा प्रचलित कानून बमोजिम खेलकुद सम्बन्धी कार्य गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त परिषद्मा दर्ता भएका एक ओलम्पिक कमिटी, एक पारा ओलम्पिक कमिटी र एक विशेष ओलम्पिक कमिटी रहनेछन्‌ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) मा उल्लिखित ओलम्पिक कमिटी बाहेक अन्य प्रकृतिका ओलम्पिक कमिटी गठन गर्न सकिनेछ ।

(३) उपदफा (१) र (२) बमोजिमका ओलम्पिक कमिटीहरु परिषद्मा दर्ता हुनु पर्नेछ ।

(४) परिषद्मा दर्ता भई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल संघ वा महासंघमा आबद्ध ओलम्पिक कमिटीको विधान अनुसारका राष्ट्रिय खेल संघ वा महासंघ नेपाल ओलम्पिक कमिटीको सदस्य खेल संघ हुनेछन्‌।

(५) उपदफा (३) बमोजिम परिषद्मा दर्ता हुनको लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता दिएको कागजात, विधान र तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा परिषद्मा निवेदन दिनु पर्नेछ ।
(६) परिषद्मा दर्ता भएका ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रको अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछ:-

(क) विधान बमोजिम कमिटीका पदाधिकारीको आवधिक निर्वाचन गर्ने,

(ख) वार्षिक साधारण सभा गर्ने र साधारण सभाबाट पारित लेखापरीक्षण प्रतिवेदन परिषद्‌ समक्ष पेश गर्ने,

(ग) परिषद्को समन्वयमा अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा भाग लिन सदस्य वा खेलाडीलाई पठाउने,

(घ) अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी बाहेक अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट सहयोग प्राप्त गर्नु अघि मन्त्रालय मार्फत्‌ नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिने,

(ङ) परिषद्को समन्वयमा नेपालमा खेलकुद सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्न सक्ने।

(७) ओलम्पिक कमिटी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।