दफा
कसूरसँग सम्बन्धित ब्यक्ति पक्राउ गर्न सकिने
(१) कसूरसँग सम्बन्धित कुनै ब्यक्ति फेला परेमा वा कसूर गर्दा गर्दैको अवस्थामा रहेमा निजलाई प्रहरी वा अनुसन्धान अधिकारीले पक्राउ गर्न सक्नेछ ।
(२) कुनै ब्यक्तिलाई कसूरको अनुसन्धानको सिलसिलामा यस परिच्छेद बमोजिम तत्कालै पक्राउ गर्नु पर्ने भएमा त्यसको कारण खुलाई सम्भव भएसम्म पक्राउ गर्नु पर्ने ब्यक्तिको पहिचान खुल्ने विवरण सहित पक्राउ पूर्जी जारी गर्ने अनुमतिको लागि मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन परेमा र पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले सोही निवेदनमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।
(४) पक्राउ पूर्जीको ढाँचा अनुसूची–८ मा उल्लेख भए बमोजिम हुनेछ ।
(५) उपदफा (३) बमोजिमको आदेश पक्राउ गर्नु पर्ने ब्यक्ति पक्राउ नपरेसम्म सार्वजनिक गरिने छैन ।
(६) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने ब्यक्ति तत्काल पक्राउ नभएमा त्यस्तो ब्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण, दसी वा सबूद नष्ट गर्ने मनासिब कारण भएमा त्यस्तो ब्यक्तिलाई अनुसूची–९ बमोजिमको ढाँचामा तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गरी स्वीकृतिको लागि पक्राउ परेको ब्यक्ति सहित मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम जरुरी पक्राउ पूर्जी जारी गरी कुनै ब्यक्ति पक्राउ भएकोमा मुद्दा हेर्ने अधिकारीबाट स्वीकृति प्राप्त नगरी त्यस्तो कसूरसँग सम्बन्धित अन्य अनुसन्धान सम्बन्धी कारबाही गर्न सकिने छैन ।
तर कसूरसँग सम्बन्धित सबूद प्रमाण नष्ट हुने, हराउने वा नासिने सम्भावना भएमा पक्राउ गरिएको व्यक्तिको शरीर, निजले प्रयोग गरेको चिजवस्तु, सवारी साधन, निज रहे बसेको घर वा स्थानको तत्काल खानतलासी लिन सकिनेछ । त्यसरी खानतलासी लिएकोमा त्यसको विवरण, खानतलासी पूर्जी तथा बरामदी मुचुल्का समेत संलग्न राखी मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(८) कुनै कसूर भएको बखत तत्काल प्रहरी उपलब्ध नभएमा कसूर गर्दाका बखत उपस्थित भएको वा कसूर भएको देख्ने ब्यक्तिले त्यस्तो कसूर गर्ने ब्यक्तिलाई भाग्न वा उम्कन नदिई निजलाई नजिकको प्रहरी कार्यालयमा बुझाउन सक्नेछ ।
(९) उपदफा (१) वा (६) बमोजिम कुनै ब्यक्तिलाई पक्राउ गर्नु पर्दा निजलाई पक्राउ गर्नुअघि पक्राउ गर्नु पर्ने कारण खुलाई सम्झाई बुझाई आत्मसमर्पण गर्ने आदेश दिनु पर्नेछ ।
(१०) उपदफा (९) बमोजिम सम्झाउँदा, बुझाउँदा वा आदेश दिँदा पनि कुनै ब्यक्तिले आत्मसमर्पण नगरी पक्राउबाट बच्ने वा भाग्ने वा उम्कने प्रयत्न गरेमा वा बल प्रयोग गरी वा नगरी कुनै किसिमले जोर जुलुम गरेमा वा गर्न प्रयत्न गरेमा निजलाई पक्राउ गर्न प्रहरी कर्मचारीले आवश्यक बल प्रयोग गर्न सक्नेछ ।
(११) यस दफा बमोजिम कुनै महिलालाई पक्राउ गर्नु परेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्नेछ ।
तर पक्राउ गर्नु पर्ने अवस्थामा तत्काल महिला प्रहरी उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशिलताको सम्मान गर्दै पुरुष प्रहरी कर्मचारीले पक्राउ गर्न वाधा पर्ने छैन ।
(१२) यस दफा बमोजिम पक्रिएको ब्यक्तिको खानतलासी वा शरीर तलासी लिन सकिनेछ ।
(१३) यस दफा बमोजिम पक्राउ गर्नु पर्ने ब्यक्ति कुनै घर वा ठाउँमा बसेको छ भन्ने शङ्का गर्नु पर्ने मनासिब कारण भएमा त्यस्तो घर वा ठाउँको खानतलासी लिई पक्राउ गर्न सकिनेछ ।
(१४) उपदफा (१३) बमोजिम खानतलासी लिँदा कुनै ब्यक्ति पक्राउ परेमा सो ब्यक्तिको शरीरको तलासी पनि लिन सकिनेछ ।
(१५) उपदफा (१२) वा (१३) बमोजिम तलासी लिँदा फेला परेका प्रमाण सम्बन्धी लिखत वा दसी प्रमाण वा अन्य कुनै वस्तु त्यस्तो ब्यक्तिलाई पक्राउ गर्ने ब्यक्ति वा अनुसन्धान अधिकारीले आप्mनो कब्जामा लिई त्यसको भरपाई दिनु पर्नेछ ।
(१६) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि  अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कुनै कसूर कुनै व्यक्तिले कुनै प्रहरी कर्मचारी वा अधिकारीको उपस्थितिमा वा कुनै सरकारी कार्यालयमा गरेमा त्यस्तो व्यक्तिलाई सम्बन्धित प्रहरी कर्मचारी, अधिकारी वा कार्यालय प्रमुखले भाग्न उम्कन नदिई निजलाई पक्राउ गरी सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान अधिकारी समक्ष बुझाउनु पर्नेछ ।
(१७) उपदफा (८) र (१६) बमोजिम पक्राउ गरी ल्याएको व्यक्तिलाई सम्बन्धित प्रहरी वा अनुसन्धान अधिकारीले जरुरी पक्राउ पूर्जी दिई उपदफा (६) बमोजिम स्वीकृतिको लागि मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।