दफा १४५
साधक
(१) कुनै अदालतबाट कुनै अभियुक्तलाई बीस वर्ष वा बीस वर्षभन्दा बढी वा जन्मकैदको सजाय हुने गरी फैसला भएकोमा त्यसरी फैसला भएको मितिले पैँतीस दिनभित्र त्यस्तो अदालतले मिसिल सहित पुनरावेदन सुन्ने अदालतमा साधक पेश गर्नु पर्नेछ ।
(१क) प्रचलित कानून बमोजिम जन्मकैद गर्नु पर्ने मुद्दाको अभियुक्तले कसूर गरेको कुरामा अदालतमा साबित भएकोमा त्यस्तो कसूर गर्दाको परिस्थितिलाई विचार गर्दा जन्मकैदको सजाय गर्नु न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले कारण सहित घटी सजायको प्रस्ताव गरी राय सहित फैसला गरेकोमा त्यसरी फैसला भएको मितिले पैंतीस दिनभित्र मिसिल सहित पुनरावेदन सुन्ने अदालतमा राय पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम साधक पेश भएकोमा पुनरावेदन सुन्ने अदालतले पनि त्यस्तो अभियुक्तलाई बीस वर्ष वा बीस वर्षभन्दा बढी वा जन्मकैदको सजाय गर्ने ठहराई फैसला गरेमा सर्वोच्च अदालतमा साधक पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१क) बमोजिम राय पेश भएकोमा पुनरावेदन सुन्ने अदालतले त्यसरी गरिएको घटी सजायलाई सदर गरेकोमा सर्वोच्च अदालतमा राय पेश गर्नु पर्नेछ ।