दफा ६
कार्यकारी निर्देशक
(१) समितिको प्रशासकीय प्रमुखको रूपमा कार्य गर्न एक जना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले उपदफा (३) बमोजिमको सिफारिस समितिको सिफारिसमा कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।
(३) कार्यकारी निर्देशकको नियुक्तिको सिफारिस गर्न देहायबमोजिमको एक सिफारिस समिति रहनेछ ः–
(क) राष्ट्रिय योजना आयोगको सदस्य (सम्बन्धित क्षेत्र हेर्ने) – संयोजक
(ख) सचिव, उद्योग मन्त्रालय – सदस्य
(ग) उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, कानुन, इन्जिनियरिङ्ग वा व्यवस्थापनको क्षेत्रमा काम गरेका
विशेषज्ञहरूमध्येबाट समितिले तोकेको एकजना –सदस्य
(४) उपदफा (३) बमोजिमको सिफारिस समितिले मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ्ग वा कानुनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, इन्जिनियरिङ्ग वा व्यवस्थापनको क्षेत्रमा
कम्तीमा दशवर्षको अनुभवप्राप्त व्यक्तिहरूमध्येबाट खुल्ला प्रतिस्पर्धाको आधारमा छनौट गरी कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न तीनजनाको नाम नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।
(५) कार्यकारी निर्देशकको पदावधि चार बर्षको हुनेछ र निजको काम सन्तोषजनक देखिएमा उपदफा (३) बमोजिमको सिफारस समितिको सिफारिसमा नेपाल सरकारले थप एक पटकको लागि निजलाई कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्न सक्नेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा समितिको हित विपरीत कुनै काम कारबाही गरेमा नेपाल सरकारले सो विषयमा आवश्यक छानबीन गर्दा निजले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको वा समितिको हित विपरीत कुनै काम कारबाही गरेको देखिएमा निजलाई जुनसुकै बखत कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी कार्यकारी निर्देशकको पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।
(७) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।
(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम कार्यकारी निर्देशकको नियुक्ति नभएसम्म बढीमा छ महिनाको लागि मन्त्रालयले नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई कार्यकारी निर्देशकको रूपमा कार्य गर्ने गरी तोक्नेछ ।