दफा २२
क्षतिको मूल्याङ्कन
: (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानी करार बमोजिम मालसामान ढुवानी गर्न बुझिलिएपछि त्यस्तो मालसामान बहुविधिक ढुवानी करार बमोजिम हस्तान्तरण हुनु अगावै हराएमा, हानि नोक्सानी भएमा वा अन्य कुनै कारणबाट भएको क्षति बापत क्षतिपूर्ति बुझाउनु पर्ने अवस्था सृजना भएमा त्यसरी हराएको, हानि नोक्सानी भएको वा क्षति भएको मालसामान प्रापकलाई हस्तान्तरण गरिने स्थान र हस्तान्तरण गरिनु पर्ने समयमा कायम हुनसक्ने मनासिब माफिकको मूल्यको आधारमा मूल्याङ्कन गरिनेछ ।
(२) उपदफा (१) बमोजिम मूल्य निर्धारण गर्दा तत्काल कायम रहेको प्रचलित बजार मूल्य वा त्यस्तो मूल्य कायम हुन नसकेमा त्यस्तै प्रकारका अन्य मालसामानको मनासिब माफिकको मूल्यको आधारमा मूल्य निर्धारण गर्नु पर्नेछ ।
(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी करार बमोजिम ढुवानी गर्नु पर्ने मालसामान सामुद्रिक वा आन्तरिक जलमार्गबाट ढुवानी नभएको अवस्थामा मालसामान हराएमा, हानि नोक्सानी वा क्षति भएमा सो बापत तिर्नुपर्ने क्षतिपूर्तिको रकम प्रति किलोग्राम आठ दशमलव तीन तीन (८.३३) एस.डी.आर. का दरले हुन आउने रकमभन्दा बढी हुने छैन ।