दफा ७७
खास अवधिभित्र मुद्दा फैसला नभएमा थुनाबाट छोड्न सकिने
(१) यस परिच्छेद बमोजिम पुर्पक्षको लागि थुनामा राखिएको कुनै अभियुक्तको सम्बन्धमा प्रमाण बुझ्न पहिलो पटक तारिख तोकिएको मितिले एक वर्षभित्र मुद्दाको किनारा हुन नसकेमा त्यस्तो अभियुक्तलाई थुनामा राखिएकोे भए धरौटी वा जमानत लिई मुद्दाको कारबाही र किनारा गर्न सकिनेछः
तर–
(क) जन्मकैद वा दश वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने कुनै कसूरको अभियोग लागेको कुनै अभियुक्त दफा ६७ बमोजिम थुनामा परेको रहेछ भने निजको सम्बन्धमा यो दफा लागू हुने छैन ।
(ख) पटके कसूरदारलाई अदालतले मनासिब सम्झेमा थुनामै राखी कारबाही गर्न सक्नेछ ।
(२) कुनै अदालतले उपदफा (१) बमोजिम कुनै अभियुक्तलाई छाड्न आदेश दिएकोमा त्यसरी छाड्ने आदेश दिएको तीन दिनभित्र पुनरावेदन सुन्ने अदालतलाई त्यसको जानकारी गराउनु पर्नेछ ।