नियम २४च
जग्गाको रकम बुझाउनु पर्ने

(१) ऐनको दफा २६ङ. बमोजिम भुमिसुधार अधिकारीबाट जग्गाधनी वा मोहीमध्ये एकजनाको नाममा जग्गा कायम हुने निर्णय गरेको जानकारी पाएको मितिले नब्बे दिन भित्र सम्बन्धित पक्षले जग्गा बापतको रकम अर्को पक्षलाई बुझाई सक्नु पर्नेछ ।
तर सो म्याद भित्र रकम बुझाउन नसकेको मनासिव माफिकको कारण उल्लेख गरी म्याद थपको लागि सम्बन्धित पक्षको निवेदन परेमा भूमिसुधार अधिकारीले पैंतीस दिन सम्मको म्याद थप गरिदिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित पक्षले बुझ्नु पर्ने रकम नबुझेमा वा बुझ्न इन्कार गरेमा सो म्याद नाघेको पन्ध्र दिन भित्र रकम बुझाउने पक्षले सोही व्यहोरा खुलाई सम्बन्धित भूमिसुधार कार्यालयमा रकम धरौटी राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सम्बन्धित पक्षले रकम धरौटी राखेमा भूमिसुधार कार्यालयले सो रकम धरौटी खातामा जम्मा गरी सात दिन भित्र रकम बुझ्नको लागि सम्बन्धित व्यक्तिको नाममा सूचना पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको सूचना पाएपछि सम्बन्धित व्यक्तिले धरौटी रकम बुझ्नु नपर्ने कुनै कारण भए बाटोको म्याद बाहेक पन्ध्र दिन भित्र भूमिसुधार कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ र म्याद भित्र त्यस्तो जानकारी नआएमा सम्बन्धित व्यक्तिले सो रकम बुझ्न मन्जुर गरेको मानिनेछ ।
(५) उपनियम (१) बमोजिम रकम पाउनु पर्ने व्यक्तिले उपनियम (३) बमोजिम रकम बुझ्ने सूचना पाएको मितिले दुई वर्ष भित्र धरौटी रकम बुझन आवश्यक प्रमाण सहित निवेदन दिएमा भूमिसुधार कार्यालयले धरौटी रकमको सयकडा दुई प्रतिशतका दरले हुने रकम कटाई बा“की रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ । सो म्याद भित्र पनि धरौटी रकम बुझिलिन नआएमा म्याद समाप्त भएपछि सो रकम नेपाल
सरकारले निर्णय गरे बमोजिम हुनेछ ।
(६) उपनियम (१) बमोजिम रकम बुझाउनु पर्ने दायित्व भएको व्यक्तिले म्याद भित्र रकम नबुझाएमा वा उपनियम (२) बमोजिम सम्बन्धित भूमिसुधार कार्यालयमा धरौटी समेत नराखेमा रकम पाउनु पर्ने व्यक्तिले बा“डफा“ड गरिने जग्गा लिलाम गराई रकम असूल गरी पाउन सम्बन्धित भूमिसुधार कार्यालयमा निवेदन दिन सक्नेछ ।
(७) उपनियम (६) बमोजिमको कुनै निवेदन पर्न आएमा भूमिसुधार कार्यालयले त्यस्तो जग्गा प्रचलित कानून बमोजिम लिलाम गरी सम्बन्धित व्यक्तिलाई रकम भराई दिनु पर्नेछ । लिलाम गर्दा निवेदन दिने व्यक्तिले पाउनु पर्ने रकम भन्दा बढी रकममा जग्गा लिलाम भई बढी रकम प्राप्त भएमा त्यसरी बढी भएको जति रकम भूमिसुधार कार्यालयको धरौटी खातामा जम्मा गरिनेछ ।
(८) उपनियम (७) बमोजिम धरौटी खातामा जम्मा भएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता बुझी लिन भूमिसुधार कार्यालयले उपनियम (३) बमोजिम सूचना गर्नेछ । त्यसरी दिईएको सूचना बमोजिम सम्बन्धित व्यक्तिले धरौटी रकम उपनियम (५) बमोजिमको म्याद भित्र बुझी लिन आवश्यक प्रमाण सहित निवेदन दिएमा भूमिसुधार कार्यालयले धरौटी रकमको सयकडा दुई प्रतिशतका दरले हुने रकम कटाई बा“की रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ । सो म्याद भित्र पनि धरौटी रकम बुझी लिन नआएमा म्याद समाप्त भएपछि सो रकम नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।
(९) यस नियम बमोजिम धरौटी रकम बुझ्नु पर्ने वा बुझाउनु पर्ने कर्तव्य भएको व्यक्तिको वतन खुल्न नसकी वा पत्ता नलागी म्याद वा सूचना तामेल हुन नसकेमा सम्पूर्ण व्यहोरा खुलाई राष्ट्रियस्तरको समाचारपत्रमा पैंतीस दिने सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(१०) उपनियम (९) बमोजिम सूचना प्रकाशन भएपछि पनि रकम बुझ्न नआएमा त्यस्तो धरौटी रकम सम्बन्धमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।