दफा ३४
तथ्याङ्क भण्डारको पहुँच तथा उपयोग
(१) सार्वजनिक सेवा प्रदान गर्नको निमित्त नेपाल सरकारले तोकेको निकायले विभागमा रहेको तथ्याङ्क तथा विवरणलाई व्यक्तिको वैयक्तिक गोपनीयता कायम रहने गरी आवश्यकता अनुसार उपयोग गर्न सक्नेछ।

(२) व्यक्तिको वैयक्तिक गोपनीयता कायम रहने गरी सरकारी निकाय तथा नेपाल सरकारको पूर्ण स्वामित्व रहेका संस्थालाई विभागमा रहेको तथ्याङ्क तथा विवरण तोकिए बमोजिम उपयोग गर्न दिन सकिनेछ।

(३) प्रचलित कानून बमोजिम नागरिकलाई सेवा प्रवाह गर्ने निकायले सम्बन्धित व्यक्तिको विवरण यकिन (भेरिफिकेशन) गर्ने प्रयोजनको लागि त्यस्तो निकायलाई विभागमा रहेको तथ्याङ्कमा तोकिए बमोजिम नियन्त्रित पहुँच दिन सकिनेछ।

(४) यस ऐन बमोजिम सङ्कलन तथा भण्डारण गरिएका तथ्याङ्क एवं विवरणमा अन्य निकायको पहुँच रहन सक्ने वा त्यस्तो तथ्याङ्क वा विवरण अन्य निकायले उपयोग गर्न सक्ने सीमा दफा ३३ को प्रतिकूल नहुने गरी नेपाल सरकारले तोके बमोजिम हुनेछ।