दफा ८५
तोकिएको तारिखका दिन उपस्थित हुनुपर्ने
(१) अदालतबाट कुनै कामका लागि उपस्थित हुन तारिख तोकिएकोमा तोकिएको तारिखका दिन अभियुक्त वा प्रतिवादी अदालतमा उपस्थित हुनु पर्नेछ ।
तर तोकिएको तारिखका दिन काबूबाहिरको परिस्थिति उत्पन्न भई अदालतमा उपस्थित हुन नसकेको कारण देखाई मुद्दाका कुनै पक्षले निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले बढीमा दुई पटकसम्म एक्काईस दिनसम्मको गुज्रेको तारिख थामिदिने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको तारिखको दिन उपस्थित हुनु पर्ने ब्यक्ति कुनै व्यहोराले थुनिएको वा कैद परेको रहेछ भने आफू थुना वा कैदमा परेको कारागार मार्फत त्यस्तो कुराको सूचना सम्बन्धित अदालतमा पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना दिएकोमा त्यसरी थुना वा कैदमा रहेको अवधिभर त्यस्तो ब्यक्तिले तारिख गुजारेको मानिने छैन ।
(४) उपदफा (२) बमोजिम थुनिएको वा कैद परेको ब्यक्तिले त्यसको सूचना अदालतलाई दिएमा अदालतले पुर्पक्षका बखत निजलाई उपस्थित गराउन सम्बन्धित कारागारलाई आदेश दिन सक्नेछ ।