दफा २१
दायित्वको सीमा
: (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले ढुवानीका लागि मालसामान बुझिलिनु अघि नै त्यसरी ढुवानी गरिने मालसामानको मूल्य घोषणा गरी बहुविधिक ढुवानीपत्रमा उल्लेख गरेको अवस्थामा बाहेक बहुविधिक ढुवानी सञ्चालनकर्ताले ढुवानीका लागि बुझिलिएका मालसामान कुनै किसिमबाट हराए वा हानि नोक्सानी भएको कारणबाट हुन गएको नोक्सानी बापत त्यसरी हराए वा हानि नोक्सानी भएको प्रत्येक प्याकेज वा एकाइको छसय छैंसठ्ठी दशमलव छ सात (६६६.६७) एस.डी.आर. वा प्रति किलोग्राम दुई एस.डी. आर. बराबरको रकममध्ये जुन बढी हुन्छ सो रकमसम्म बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व सीमित हुनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि प्याकेज वा एकाइ कायम गर्दा बहुविधिक ढुवानीपत्रमा उल्लेख गरिए बमोजिमका प्याकेज वा एकाइलाई नै आधार मानिनेछ ।
(३) मालसामान हस्तान्तरण गर्न ढिलाई भएको कारणबाट सृजना भएको दायित्वको हकमा बहुविधिक ढुवानी करारमा सो सम्बन्धमा गरिएको व्यवस्थाका अधीनमा रही बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व सीमित हुनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व निजले बहुविधिक ढुवानी करार बमोजिम ढुवानी गर्नु पर्ने सम्पूर्ण मालसामानको कुल मूल्यभन्दा बढी हुने छैन ।