दफा ७२
धरौट, जमानत वा बैङ्क जमानतको रकम तोक्ने आधार
(१) यस परिच्छेद बमोजिम लिनु पर्ने धरौट, जमानत वा बैङ्क जमानतको रकम तोक्दा देहायको कुरा विचार गरी मनासिब किसिमले तोक्नु पर्छः–
(क) कसूरको प्रकृति र गम्भीरता,
(ख) अभियुक्त वा कसूरदारको आर्थिक अवस्था तथा पारिवारिक स्थिति,
(ग) अभियुक्त वा कसूरदारको उमेर र शारीरिक स्थिति,
(घ) निजले पहिले कुनै कसूरमा कसूरदार ठहरी सजाय पाएको वा नपाएको,
(ङ) निजले एकै वारदातमा विभिन्न कसूर गरे वा नगरेको,
(च) निजलाई भएको वा हुन सक्ने सजाय र निजले व्यहोर्नु पर्ने क्षतिपूर्ति,
(छ) कसूरबाट सृजित परिणाम,
(ज) कसूरमा साबिती भए वा नभएको,
(झ) असहाय वा अशक्त ब्यक्ति वा गर्भवती वा दुधे बालबालिका भएकी महिला अभियुक्त रहेको ।
(२) यस संहिता अन्तर्गत कुनै ब्यक्तिसँग मागिएको धरौट, जमानत वा बैङ्क जमानतको रकम घटी वा बढी भई मनासिब नभएको कारण देखाई मुद्दाको कुनै पक्षले निवेदन दिएमा पुनरावेदन सुन्ने अदालतले त्यस्तो विषयमा सुनुवाई गरी त्यस्तो धरौट, जमानत वा बैङ्क जमानत रकम थप घट गर्ने वा परिवर्तन गर्ने आदेश दिन सक्नेछ ।