दफा १८
निर्देशन दिन सक्ने
(१) दफा १७ बमोजिम निरीक्षण वा जाँचबुझको सिलसिलामा संस्थाले देहायको कुनै काम कारबाही गरेको देखिएमा बैङ्कले निश्चित समय तोकी सो संस्थाले गर्ने कुनै काम कारबाहीको सम्बन्धमा सुधार गर्न वा कुनै खास व्यवस्था गर्न निर्देशन दिन सक्नेछः–
(क) यस ऐन बमोजिम गर्नुपर्ने काम कारबाही नगरेको,
(ख) बचतकर्ता तथा ऋणीलाई प्रतिकूल हुने कुनै काम कारबाही गरेको,
(ग) आफ्नो बहीखाता, हरहिसाब वा कागजातहरू उचित ढङ्गले नराखेको पाइएको,
(घ) बैङ्कले तोकेको शर्तहरू तथा दिएको निर्देशनहरू पालन नगरेको,
(ङ) संस्थाको रकम हिनामिना गरेको वा ड्डप्राप्त रकम यस ऐनको उद्देश्य विपरीतको काममा लगाएको,
(च) यस ऐन बमोजिम मागिएको विवरण, तथ्याङ्क वा कागजात उपलव्ध नगराएको ।
(२) बैङ्कले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संस्थाले गर्नुपर्ने कुराहरूको सम्बन्धमा संस्थालाई समय समयमा निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।