दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “वित्तीय मध्यस्थता” भन्नाले यस ऐन बमोजिम लघुबचत सङ्कलन गर्ने तथा लघुकर्जा उपलब्ध गराउने काम सम्झनुपर्छ । (ख) “संस्था” भन्नाले संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भई यस ऐन बमोजिम वित्तीय मध्यस्थताकोे काम गर्ने अनुमतिपत्र प्राप्त संस्था सम्झनुपर्छ । (ग) “अनुमतिपत्र” भन्नाले दफा ५ बमोजिम वित्तीय मध्यस्थताकोे काम गर्न दिइएको अनुमतिपत्र सम्झनुपर्छ । (घ) “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गत स्थापना भएको नेपाल राष्ट्र बैङ्क सम्झनुपर्छ । (ङ) “लघुव्यवसाय” भन्नाले दशजना भन्दा कम व्यक्ति काममा संलग्न भई सञ्चालन हुने आयमूलक व्यवसाय सम्झनुपर्छ । (च) “न्यून आय भएको व्यक्ति” भन्नाले बैङ्कले समय समयमा तोकेकोभन्दा कम आय भएको व्यक्ति सम्झनुपर्छ । (छ) “समूह” भन्नाले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी गठन गरिएको न्यून आय भएका व्यक्तिहरूको समूह सम्झनुपर्छ । (ज) “सामूहिक जमानी” भन्नाले समूहको कुनै सदस्यले लिएको लघुकर्जाको भुक्तानी निजले नगरेमा त्यस्तो समूहको अन्य सदस्यहरूले सामूहिक रूपमा तिर्न मञ्जुर गरी संस्थालार्ई लेखिदिएको जमानीको लिखत सम्झनुपर्छ । (ज१) “लघुबचत” भन्नाले संस्थाको सदस्य रहेका न्यून आय भएको व्यक्ति वा व्यक्तिहरूको समूहबाट बैङ्कले समय समयमा तोकिदिए बमोजिम संस्थाले सङ्कलन गर्ने बचत रकम सम्झनुपर्छ । (झ) “लघुकर्जा” भन्नाले लघुव्यवसाय सञ्चालन गर्ने बैङ्कले समय समयमा तोकिदिए बमोजिमका सीमासम्म संस्थाले प्रदान गर्ने कर्जा सम्झनुपर्छ । (ञ) “ऋणी” भन्नाले संस्थासँग  लघुकर्जा लिने समूह वा समूहको कुनै सदस्य सम्झनुपर्छ । (ट) “सुरक्षण” भन्नाले लघुकर्जा लिँदा प्रचलित कानून बमोजिम धितो, बन्धक वा अरू कुनै किसिमले लिखत गरिदिएको चल अचल सम्पत्ति सम्झनुपर्छ । (ठ) “कर्मचारी” भन्नाले संस्थामा पारिश्रमिक लिई वा नलिई काम गर्न संस्थाद्वारा नियुक्त व्यक्ति सम्झनुपर्छ र सो शब्दले संस्थाको पदाधिकारी समेतलार्ई जनाउनेछ । (ड) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।