नियम १३
निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
(१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः- (क) निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सहायक निर्वाचन अधिकृत तथा अन्य कर्मचारी नियुक्त गर्ने, (ख) मतदान केन्द्र रहेको जिल्लामा कार्यरत नेपाल सरकारका कर्मचारी मध्येबाट मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी नियुक्त गरी मतदान केन्द्रमा खटाउने, (ग) सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन तथा मतदान सम्बन्धी प्रक्रियाको विषयमा अभिमूखिकरण गर्ने, गराउने, (घ) आयोगले उपलब्ध गराएका मतपत्र लगायतका निर्वाचन सामग्री रुजु गरी बुझी लिने, (ङ) आयोगबाट प्राप्त मतपत्र लगायतका निर्वाचन सामग्री मतदान अधिकृतलाई उपलब्ध गराउने, (च) मतदान केन्द्र तथा मतगणना गर्ने स्थान र सो कार्यमा खटिने कर्मचारीको आवश्यक सुरक्षा प्रबन्धको लागि स्थानीय प्रशासनसँग समन्वय गर्ने, (छ) मतदानको दिन मतदान केन्द्रमा मतदान कार्यको अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने, गराउने, (ज) मतदान कार्य समाप्त भएपछि मतदान केन्द्रबाट मतगणना गर्न तोकिएको स्थानमा प्राप्त भएका मतपेटिका बुझी सुरक्षित साथ राख्ने, (झ) सम्बन्धित मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएपछि मतगणना गर्ने, (ञ)   मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणामको घोषणा गरी सोको विवरण आयोगमा पठाउने, (ट) मतदान अधिकृतबाट प्राप्त भएका तथा निर्वाचन सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयमा रहेका बाँकी निर्वाचन सामग्रीहरु निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्लाको क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउने, (ठ) आयोगबाट स्वीकृत आर्थिक निर्देशिकामा उल्लेख भए बमोजिम खर्च लेख्ने र लेखा राख्ने, (ड) निर्वाचन सम्बन्धी सम्पूर्ण खर्चको सम्बन्धमा सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट आन्तरिक लेखा परीक्षण गराई सोको प्रमाणित आय–व्यय विवरण सहितको सम्पूर्ण स्रेस्ता अन्तिम लेखा परीक्षणको लागि आयोगले तोकेको समयावधि भित्र आयोगमा बुझाउने, (ढ) निर्वाचन पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने, (ण) निर्वाचन आचार संहिता पालना गर्ने, गराउने सम्बन्धमा आवश्यक व्यवस्था गरी सोको जानकारी आयोगलाई गराउने, (त) प्रचलित कानूनी व्यवस्था र निर्वाचन आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनको अधीनमा रही निर्वाचन कार्यक्रम अनुसारका सबै कार्य सम्पन्न गर्ने । (२) निर्वाचन अधिकृतको प्रत्यक्ष निर्देशनमा रही ऐन तथा यस नियमावली बमोजिम निर्वाचन सम्बन्धी काममा निर्वाचन अधिकृतलाई सहयोग गर्नु सहायक निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।