नियम २०
निर्वाचन प्रतिनिधि
(१) उम्मेदवारले निर्वाचन सम्बन्धमा आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न एकजना निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम कुनै व्यक्ति निर्वाचन प्रतिनिधि हुन देहायको योग्यता भएको हुनु पर्नेछ ः- (क) नेपालको नागरिक, (ख) पच्चीस वर्ष उमेर पूरा भएको, (ग) मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको तत्काल कायम रहेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, (घ) लेखपढ गर्न जानेको, (ङ) ऐनको दफा १२ को खण्ड (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) बमोजिमको अयोग्यता नभएको, (च) अन्य प्रचलित कानूनले अयोग्य नभएको । (३) निर्वाचन प्रतिनिधिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः- (क) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्यमा उम्मेदवारको प्रतिनिधित्व गर्ने, (ख) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्य गर्दा तयार गर्नुपर्ने विभिन्न मुचुल्कामा उम्मेदवारको प्रतिनिधिको रुपमा सहीछाप गर्ने, (ग) निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सहयोग पुर्याउने । (४) उपनियम (१) बमोजिम उम्मेदवारले निर्वाचन प्रतिनिधि नियुक्त गरेको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ । (५) उपनियम (४) बमोजिम लिखित सूचना प्राप्त गरेपछि निर्वाचन अधिकृतले त्यस्तो निर्वाचन प्रतिनिधिलाई परिचयपत्र दिनु पर्नेछ ।