दफा १८
निवृत्तभरण वा उपदान
(१) संवैधानिक निकायका पदाधिकारीको पदमा नियुक्त भएको व्यक्ति सो पदबाट अवकाश प्राप्त गरेपछि निजले देहाय बमोजिमको निवृत्तभरण वा उपदान पाउनेछः– 
(क) संवैधानिक निकायका पदाधिकारीको पदमा दश वर्ष सेवा अवधि पूरा गरिसकेको भए आफ्नो मासिक पारिश्रमिकको छैसठ्ठी प्रतिशत रकम  मासिक निवृत्तभरण ।
(ख) संवैधानिक पदमा वा नेपाल सरकारको सेवामा बहाल रहेको वा बहाल गरिसकेको व्यक्ति संवैधानिक निकायका पदाधिकारीको पदमा नियुक्त भई सेवाबाट अवकाश पाएमा निजले त्यसरी अघि गरेको सेवा अवधि र संवैधानिक निकायका पदाधिकारीको पदमा काम गरेको सेवा अवधि जोड्दा बीस वर्ष वा सो भन्दा बढी सेवा अवधि पूरा हुने रहेछ भने निजले खण्ड    (क) बमोजिमको मासिक निवृत्तभरण वा देहायको हिसाबले हुने मासिक निवृत्तभरणमध्ये कुनै एक रोज्न सक्नेछ ः– जम्मा सेवा वर्ष मासिक पारिश्रमिक
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “सरकारी सेवामा काम गरेको अवधि” भन्नाले नेपाल सरकारबाट वा नेपाल सरकारबाट अनुदान प्राप्त संगठित संस्थाबाट निवृत्तभरण पाउन सक्ने कानुन बमोजिम कुनै पदमा नियुक्त भै काम गरेको अवधिलाई  जनाउँनेछ ।
(ग) खण्ड (क) वा (ख) बमोजिम हिसाब गर्दा संवैधानिक निकायका पदाधिकारीको सेवा अवधि दश वा बीस वर्ष नपुग्ने भएमा जति वर्ष सेवा पूरा भएको छ सो पूरा गरेको वर्ष संख्यालाई निजले पाईआएको डेढ महिनाको पारिश्रमिकको अङ्कले गणना गर्दा हुन आउने अङ्क बराबरको एकमुष्ट उपदान रकम पाउनेछ । 
(२) उपदफा (१) को खण्ड (क) बमोजिम निवृत्तभरणको अवधि गणना गर्ने प्रयोजनको लागि प्रमुख पदाधिकारी वा पदाधिकारी वा सो दुवै पदमा काम गरेको अवधिमा संवैधानिक पदमा वा सरकारी सेवाको पदमा वा सो दुवै पदमा काम गरेको कुल अवधिको आधा जोडी गणना गरिनेछ । 
(३) कुनै संवैधानिक पदमा वा नेपाल सरकारको सेवा गरे बापत उपदान पाइसकेको कुनै व्यक्ति संवैधानिक निकायको पदाधिकारीको पदमा नियुक्त भएमा निजले त्यसरी नियुक्त भएको एक वर्ष भित्र आफूले अघि पाएको उपदानको पूरा रकम फिर्ता गरेमा मात्र निजले अघि गरेको सेवा अवधि निवृत्तभरणको प्रयोजनको लागि गणना गरिनेछ ।
(४) यस दफा बमोजिम संवैधानिक निकायका पदाधिकारीले पाउने उपदानको रकम निजको बाह्र महिनाको पारिश्रमिक रकम भन्दा बढी हुने छैन । 
(५) संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक वृद्धि हुँदा खाईपाई आएको पारिश्रमिकमा जति रकम वृद्धि भएको छ त्यसको दुई तिहाई रकम निवृत्तभरण पाइरहेको संवैधानिक निकायका पदाधिकारीको निवृत्तभरणको रकममा पनि थप गरिनेछ । 
(६) कुनै संवैधानिक पदमा वा नेपाल सरकारको सेवा गरे बापत निवृत्तभरण पाइरहेको व्यक्ति संवैधानिक निकायका पदाधिकारीको पदमा नियुक्त भई यस ऐन बमोजिम पनि निवृत्तभरण पाउन सक्ने भएमा निजले अघि पाइरहेको निवृत्तभरण र यस ऐन बमोजिम पाउने निवृत्तभरण मध्ये कुनै एक रोज्न सक्नेछ ।
(७) माथि उपदफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा ईमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालन नगरेको आधारमा पदबाट हटाइएको संवैधानिक निकायका पदाधिकारीले यस ऐन बमोजिमको निवृत्तभरण वा उपदानको सुविधा पाउने  छैन ।