दफा ३०
नेपाल बाहिर भए गरेको कसूरको अनुसन्धान
(१) नेपाल बाहिर भए गरेको कसूरको सम्बन्धमा नेपालको अदालतमा मुद्दा चल्ने कानूनी व्यवस्था भएमा यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको रीत पु¥याई भएको त्यस्तो कसूरको अनुसन्धान यसै संहिता बमोजिम रीतपूर्वक भए गरेको मानिनेछः–
(क) नेपालका अदालतमा मुद्दा चल्न सक्ने फौजदारी कसूरको अनुसन्धान एक अर्का मुलुकका अधिकार प्राप्त अनुसन्धान अधिकारीबाट हुन सक्ने गरी कुनै मुलुकसँग कुनै सन्धि भएको रहेछ भने त्यस्तो सन्धिको व्यवस्था बमोजिम भएको अनुसन्धान,
(ख) खण्ड (क) बमोजिमको सन्धि भएको रहेनछ भने कूटनैतिक माध्यम मार्फत कसूर भएको मुलुकको अनुमति प्राप्त गरी त्यस्तो मुलुकको अधिकार प्राप्त अधिकारीको सहयोगमा नेपाल सरकारले तोकेको अनुसन्धान अधिकारीले गरेको अनुसन्धान,
(ग) खण्ड (क) वा (ख) बमोजिम अनुसन्धान हुन सक्ने अवस्था रहेनछ भने जुन मुलुकमा कसूर भएको हो सोही मुलुकको अधिकार प्राप्त अनुसन्धान अधिकारीले गरेको अनुसन्धान,
(घ) खण्ड (ग) बमोजिम पनि सम्भव नभएको अवस्थामा जुन इलाकामा अभियुक्त फेला परेको छ सोही इलाकामा वा अभियुक्त फेला नपरेकोमा निजको स्थायी बसोबास भएको इलाकाको अधिकार प्राप्त अनुसन्धान अधिकारीले गरेको अनुसन्धान ।
(२) उपदफा (१) बमोजिम भएको अनुसन्धानको प्रतिवेदन वा त्यससँग सम्बन्धित लिखतहरु नेपाली भाषा बाहेकको अन्य भाषामा भएका रहेछन् भने त्यस्ता लिखतको नेपाली भाषामा प्रामाणिक अनुवाद गरी अदालतमा पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम भएको अनुसन्धानबाट कुनै ब्यक्ति उपर मुद्दा दायर गर्नु पर्र्ने देखिएमा सम्बन्धित सरकारी वकिलले यस परिच्छेद बमोजिम अभियोगपत्र तयार गरी अदालतमा मुद्दा दायर गर्नेछ ।