दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “रकम” भन्नाले दफा ३ बमोजिम नेपाल सरकारबाट ठेक्का बन्दोबस्त भएको वा हुने काम कुरालाई सम्झनु पर्छ ।

(ख) “ठेक्का” भन्नाले यो ऐन र अन्य प्रचलित नेपाल कानूनबमोजिम नेपाल सरकारका तर्फबाट दिइने ठेक्कालाई सम्झनु पर्छ ।

(ग) “टेण्डर” भन्नाले आफ्नो शर्तहरू स्पष्ट रूपमा खुलाई सो शर्तहरूमा ठेक्का लिन कबूल गरी लाहाछाप मारी ठेक्का लिन कबूल गर्ने व्यक्तिले पठाएको दरखास्तलाई सम्झनु पर्छ ।

(घ) “बढाबढ वा घटाघट” भन्नाले यस ऐनबमोजिम ठेक्का बन्दोबस्त गर्नका लागि ठेक्का लिन चाहने व्यक्तिहरूबाट डाँक बोलाई गरिएको बढाबढ वा घटाघट सम्झनु पर्छ ।

(ङ) “डाँक” भन्नाले बढाबढ वा घटाघट हुँदा ठेक्का लिन चाहने व्यक्तिले सो ठेक्काका सम्बन्धमा कबूल गरेको नगदी वा जिन्सीका अङ्कलाई सम्झनुपर्छ ।

(च) “चलन पूर्जी” भन्नाले पट्टा पाउनु भन्दा अगावै ठेक्का शर्तबमोजिम रकम चलन गर्न वा काम सुरु गर्न अधिकार प्रदान गरी दिइने इजाजतपत्रलाई सम्झनुपर्छ ।

(छ) “कबुलियत” भन्नाले यो ऐन र अन्य प्रचलित नेपाल कानूनका अधीनमा रही नेपाल सरकार र ठेकदारका बीचमा भएको शर्तबमोजिम ठेक्का लिन कबूल गर्दै सो शर्तहरू खुलाई ठेकदारले लेखी दिएको मञ्जूरीको लिखतलाई सम्झनुपर्छ ।

(ज) “पट्टा” भन्नाले यो ऐन र अन्य प्रचलित नेपाल कानूनका अधीनमा रही नेपाल सरकार र ठेकदारका बीचमा भएको शर्त बमोजिम ठेक्का काम गर्न नेपाल सरकारले सो शर्तहरू खुलाई ठेकदारलाई दिएको इजाजतपत्रलाई सम्झनु पर्छ ।

(झ) “नेपाली नागरिक” भन्नाले सबै वा अधिकांश शेयर नेपाली नागरिकहरूको भएको कुनै संगठित संस्था र फर्म र नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थालाई समेत सम्झनु पर्छ ।

(ञ) “तोकिएको” वा “तोकिएबमोजिमको” भन्नाले यस ऐन अन्तर्गतको नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।