दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।

(ख) "अन्तर्राष्ट्रिय स्तरका खेलाडी" भन्नाले ओलम्पिक, एशियन र दक्षिण एशियाली औपचारिक खेलकुद वा अन्तर्राष्ट्रिय खेल संघ वा महासंघबाट आयोजित खेलकुद र त्यस्ता खेलकुदका विश्वस्तरीय च्याम्पियनसिपमा नेपालको तर्फबाट भाग लिएका नेपाली खेलाडी सम्झनु पर्छ ।

(ग) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।

(घ) “खेलकुद" भन्नाले शारीरिक तथा मानसिक प्रयास र सीपको माध्यमबाट व्यक्तिगत वा समूहमा प्रतिस्पर्धात्मक क्रियाकलापमा संलग्न रही नतिजामुखी उपलब्धि हासिल गर्ने क्रियाकलापमा सक्रीय रहने कार्यलाई सम्झनु पर्छ र सो शब्दले प्रचलित व्यावसायिक, पर्यटकीय, साहसिक तथा परम्परागत खेलहरुलाई समेत जनाउँछ ।
(ङ) “खेलाडी" भन्नाले खेलकुदमा संलग्न व्यक्ति सम्झनु पर्छ।

(च) “खेल संस्था" भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको खेलकुद सम्बन्धी संस्था सम्झनु पर्छ ।

(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(ज) “परिषद्‌” भन्नाले दफा ३ बमोजिमको राष्ट्रिय खेलकुद परिषद्‌ सम्झनु पर्छ ।

(झ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय सम्झनु पर्छ ।

(ज) “राष्ट्रियस्तरका खेलाडी" भन्नाले परिषद्ले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका नेपाली खेलाडी सम्झनु पर्छ।

(ट) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिवलाई समेत जनाउँछ ।

(ठ) “सदस्य-सचिव” भन्नाले दफा १७ बमोजिमको परिषद्को सदस्य-सचिव सम्झनु पर्छ ।

(ड) “समिति” भन्नाले दफा १४ बमोजिमको कार्यकारी समिति सम्झनु पर्छ ।

(ढ) "संघ" भन्नाले दफा २२ बमोजिम स्थापना भएका खेल संघ सम्झनु पर्छ र सो शब्दले दफा २३ बमोजिमका राष्ट्रिय खेल संघ वा महासंघ समेतलाई जनाउँछ ।