नियम ४०
पुन मतदान गराउने
(१) नियम ३९ बमोजिम मतगणना गर्दा कुनै पनि उम्मेदवारले ऐनको दफा ५५ को उपदफा (२) बमोजिम निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्न नसकेमा निर्वाचन अधिकृतले ऐनको दफा ५६ बमोजिम सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारहरुबीच मतदान हुने गरी अर्को मिति तोकी सोको सूचना आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदान भई नियम ३९ बमोजिम मतगणना गर्दा कुनै उम्मेदवारले ऐनको दफा ५६ को उपदफा (२) बमोजिम कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम मतगणना गर्दा कुनै पनि उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा निर्वाचन अधिकृतले उपनियम (१) बमोजिमका दुई जना उम्मेदवारहरुबीच पुन मतदान हुने गरी अर्को मिति तोकी सोको सूचना आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम भएको मतदानको मतगणना गर्दा ऐनको दफा ५६ को उपदफा (४) बमोजिम खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।
(५) उपनियम (१) वा (३) बमोजिम निर्वाचन अधिकृतले पुन मतदान हुने गरी अर्को मिति तोक्दा आयोगले सो सम्बन्धमा कुनै निर्देशन दिएको भएमा सो समेतलाई विचार गरी यथाशीघ्र मतदान हुने गरी तोक्नु पर्नेछ ।