दफा १३४
पुनरावेदन लाग्ने
(१) अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर चित्त नबुझ्ने पक्षले फैसला भएको थाहा पाएको मितिले नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको हकमा सत्तरी दिन र अन्य मुद्दामा तीस दिनभित्र पुनरावेदन गर्न सक्नेछ ।
तर त्यस्तो अवधिभित्र पुनरावेदन गर्न नसकेको कारण देखाई पुनरावेदन गर्न चाहने पक्षले निवेदन दिएमा र निवेदनको व्यहोरा मनासिब ठहराएमा पुनरावेदन सुन्ने अदालतले बढीमा तीस दिनसम्मको म्याद थामिदिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन गर्न चाहने ब्यक्तिले फैसला गर्ने अदालतको पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन दर्ता गराउनु पर्नेछ ।
(३) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट सुनुवाई हुँदाका बखत मुद्दाको पक्ष वा निजको वारिस उपस्थित भएको वा निजको कानून व्यवसायी उपस्थित भई बहस पैरवी गरेको रहेछ र सोही दिन फैसला भएको रहेछ भने मुद्दाको पक्षले त्यस्तो फैसला भएको थाहा पाएको मानिनेछ ।
तर सरकार वादी भएको मुद्दाको हकमा दफा १३२ को उपदफा (४) बमोजिम फैसलाको जानकारी प्राप्त भएको मितिबाट पुनरावेदन गर्ने म्याद शुरु हुनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि फैसला भएको मितिले एक वर्षको अवधि नाघेपछि पक्षले फैसला भएको स्वतः थाहा पाएको मानिनेछ ।