दफा १४४
पुनरावेदन सुन्ने अदालतको अधिकार
(१) यस परिच्छेद बमोजिम पुनरावेदन उपर सुनुवाई गर्दा पुनरावेदन सुन्ने अदालतलाई देहाय बमोजिमको अधिकार हुनेछः–
(क) तल्लो अदालतको फैसला सदर वा बदर गर्ने वा उल्टी वा केही उल्टी गर्ने,
(ख) तल्लो अदालतले कसूरदारलाई तोकेको सजायको मात्रा घटाउने वा बढाउने वा सजायमा परिवर्तन गर्ने,
(ग) बुझ्नु पर्ने प्रमाण नबुझी फैसला भएको रहेछ भने त्यस्तो प्रमाण आफैले बुझ्ने वा बुझ्न तल्लो अदालतलाई आदेश दिने,
(घ) मुद्दामा ठहर गर्नु पर्ने विषयमा ठहर नभएको भए त्यस्तो विषयमा आफैले ठहर गर्ने वा ठहर गर्न तल्लो अदालतमा पठाउने
(ङ) तल्लो अदालतको फैसलामा आनुषङ्गिक वा प्रासङ्गिक परिवर्तन गर्ने।
(२) तल्लो अदालतले गरेको फैसला उपर कुनै खास कसूरदारको वा प्रतिवादीको मात्र पुनरावेदन परेको रहेछ र त्यस्तो पुनरावेदनको निर्णय गर्दा पुनरावेदन नगर्ने कसूरदार वा प्रतिवादीको हकमा तल्लो अदालतको फैसला फरक पर्ने देखिएमा पुनरावेदन सुन्ने अदालतले सोको कारण खुलाई त्यस्तो कसूरदार वा प्रतिवादीको हकमा पनि उपदफा (१) मा उल्लिखित अधिकारको प्रयोग गरी कानून बमोजिम फैसला गर्न सक्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुन्ने अदालतले तल्लो अदालतलाई भएको अधिकार आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।