दफा १४०
पुनरावेदनको सुनुवाई
(१) तल्लो अदालतबाट मिसिल प्राप्त भएको मितिले छ महिनाभित्र पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको सुनुवाई गरिसक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन सुनुवाई गर्दा तल्लो अदालतले गरेको निर्णय मनासिब भई तात्विक फरक पर्ने नदेखिएमा पुनरावेदन सुन्ने अदालतले सोको कारण खुलाई पुनरावेदन जिकिर अस्वीकृत गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम सुनुवाइ गर्दा तल्लो अदालतबाट भएको निर्णय फरक पर्न सक्ने देखिएमा त्यसको कारण खुलाई पुनरावेदन सुन्ने अदालतले सुनुवाइको लागि प्रत्यर्थी झिकाउने आदेश गर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएमा पुनरावेदन सुन्ने अदालतले पुनरावेदन पत्रको प्रतिलिपि साथै राखी प्रत्यर्थीको नाउँमा बाटोको म्यादबाहेक पन्ध्र दिनभित्र उपस्थित हुन म्याद जारी गर्नु पर्नेछ ।
(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुन्ने अदालतले चाहेमा उपदफा (१) बमोजिमको म्याद आफैँले वा शुरु मुद्दा फैसला गर्ने अदालत मार्फत् यस संहिता बमोजिमको रीत पुर्‍याई तामेल गर्न सक्नेछ।
(५) उपदफा (४) बमोजिमको म्याद पाएको ब्यक्तिले अदालतले तोकेको अवधिभित्र पुनरावेदनको जिकिर खण्डन गरी प्रतिरक्षा गर्न लिखित प्रतिवाद पेश गर्न सक्नेछ ।
(६) उपदफा (५) बमोजिम अदालतमा पेश गर्ने लिखित प्रतिवाद अनुसूची–४६ मा उल्लिखित ढाँचा बमोजिम हुनेछ ।
(७) उपदफा (३) बमोजिम सुनुवाई गरेपछि पुनरावेदन उपर अदालतले निर्णय गर्नु पर्नेछ ।