दफा ४४
पोल उजुर गरे बापत सजाय नहुने
(१) अनुसूची–१, अनुसूची–२ र अनुसूची–३ अन्तर्गतका कसूर सम्बन्धी मुद्दामा पोल वा उजुर गरे बापत कुनै सजाय हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफू साक्षी भई नेपाल सरकार, प्रहरी कर्मचारी वा अन्य अधिकारीलाई विश्वास पर्ने किसिमको कुनै कुरा वा सवूद प्रमाण देखाई पोल वा उजुर गरेकोमा सोही आधारबाट अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सवूद वा प्रमाण झुठ्ठा वा बनावटी भएको कुरा उल्लेख गरी कसैको प्रतिवेदन, उजुरी परेमा वा बयान भएमा वा कुनै साक्षी वा जाहेरवालाको बकपत्र वा अन्य कुनै किसिमबाट देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी देहाय बमोजिम गर्न सक्नेछः–
(क) झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न,
तर त्यसरी सजाय गर्दा कसूरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिबाना गर्न सकिने छैन ।
(ख) झुठ्ठो कुरा लेखिदिने वा बनावटी प्रमाण पेश गर्ने काम वा पोल वा उजुर गर्नु पर्ने मनासिब माफिकको कारण नभई साक्षीले ब्यक्तिगत रिसइविले वा कुनै प्रलोभनमा परी गरेको भन्ने अदालतलाई लागेमा सफाई पाउने प्रतिवादीलाई मुद्दाको प्रकृति र अवस्था विचार गरी त्यस्तो साक्षीबाट मनासिब क्षतिपूर्ति त्यसै मुद्दाबाट भराई दिन ।
तर निजले दिएको जाहेरी वा साक्षी प्रतिकूल हुनाको मनासिब कारण दिएमा क्षतिपूर्ति भराइने छैन ।