दफा
प्रमाण लोप वा नास हुन नदिन र कसूर गर्ने ब्यक्ति उम्कन नपाउने व्यवस्था गर्ने
(१) कुनै प्रहरी कार्यालय वा प्रहरी कर्मचारीले अनुसूची –१ मा उल्लिखित कुनै कसूर भएको वा भई रहेको वा हुन लागेको जानकारी पाएमा कसूरदारलाई कसूर गर्नबाट रोक्ने वा कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नास हुन नदिने र कसूर गर्ने ब्यक्ति भाग्न, उम्कन नपाउने आवश्यक र प्रभावकारी व्यवस्था यथाशिघ्र गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तत्कालै कारबाही नगरेमा कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नास हुने वा कसूर गर्ने ब्यक्ति भाग्ने, उम्कने सम्भावना भएमा त्यस्तो प्रहरी कार्यालय वा कर्मचारीले आवश्यकता अनुसार अर्को प्रहरी कार्यालयको क्षेत्रमा समेत गई आवश्यक कारबाही गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अर्को प्रहरी कार्यालयको क्षेत्रमा गई कुनै कारबाही गर्नु पर्ने भएमा त्यस्तो कार्यालय वा कर्मचारीले त्यसको जानकारी सम्बन्धित प्रहरी कार्यालय वा निकाय तथा आपूmभन्दा माथिल्लो प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।
(४) अनुसूची–२ मा उल्लिखित कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको जानकारी कसैको सूचना वा सम्बन्धित अधिकारीले आपैmले कुनै स्रोतबाट पाएमा त्यस्तो अधिकारीले उपदफा (१) वा (२) बमोजिमको कारबाही गर्नु पर्नेछ ।
तर त्यस्तो कसूरको सूचना कुनै प्रहरी कर्मचारीले थाहा पाएको र सम्बन्धित अनुसन्धान अधिकारी तत्काल उपलब्ध नभएमा त्यस्तो प्रहरी कर्मचारीले उपदफा (१) मा उल्लिखित कारबाही गरी कुनै ब्यक्ति पक्राउ परेको भए त्यस्तो व्यक्ति सहित कारबाहीको विवरण अनुसन्धान अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(५) प्रहरी कर्मचारी वा अनुसन्धान अधिकारीले कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नास हुन नदिन वा कसूरदारलाई पक्राउ गर्न कुनै निकाय, अधिकारी वा ब्यक्तिसँग मद्दत माग्न सक्नेछ र त्यस्तो मद्दत मागेमा आवश्यक मद्दत दिनु त्यस्तो निकाय, अधिकारी वा ब्यक्तिको कर्तव्य हुनेछ ।
(६) प्रहरी कर्मचारीले कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको छ भन्ने जानकारी वा सूचना वा सुराक पाई सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएमा त्यस्तो कसूर गर्ने ब्यक्तिलाई तुरुन्त पक्राउ गर्नु पर्नेछ ।
(७) प्रहरी कर्मचारीले कसूरसँग सम्बन्धित दसीको मालसामान र अन्य कुनै प्रमाण वा वस्तु फेला पारेमा त्यस्तो प्रमाण वा वस्तु समेत घटनास्थलमा उपलब्ध कसूर भएको देख्ने ब्यक्तिहरु कोही भए निजहरुको रोहवरमा आफ्नो कब्जामा लिई आवश्यकता अनुसार मुचुल्का खडा गर्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम मुचुल्का खडा गर्ने कार्य सम्पन्न नभएसम्म त्यस्तो वस्तु, स्थान वा घटनास्थलको अवस्थालाई यथास्थितिमा सुरक्षित राख्नु पर्नेछ ।
(९) उपदफा (७) बमोजिम प्राप्त भएको दसीको मालसामान र कसूरसँग सम्बन्धित प्रमाण वा वस्तु तत्काल आफ्नो जिम्मा वा कब्जामा लिन नसकिने अवस्था रहेछ भने त्यस्तो चीज वा वस्तुलाई सुरक्षित साथ राख्नको निमित्त सम्बन्धित प्रहरी कर्मचारीले स्थानीय तह वा अन्य कुनै कार्यालयलाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरिएमा सम्बन्धित तह वा कार्यालयले पनि त्यस्तो मालसामान वा प्रमाण जिम्मा लिई त्यसको भरपाई दिनु पर्नेछ ।
तर कसूरसँग सम्बन्धित नभएको वस्तु सम्बन्धित ब्यक्तिलाई तत्काल फिर्ता गर्नु पर्नेछ ।