नियम १०
प्रस्ताव आव्हान गर्ने
(१) कार्यालयले नियम ९ को उपनियम (५) बमोजिमको संक्षिप्त
सूचीमा समावेश भएका लगानीकर्ताहरूबाट प्रतिस्पर्धाका आधारमा परियोजना कार्यान्वयन
गर्ने सम्बन्धमा देहायका कुराहरू खुलाई कम्तीमा पैतालीस दिनको म्याद दिई अंग्रेजी र
नेपाली भाषामा राष्ट्रिय स्तरका समाचार पत्रमा सूचना प्रकाशन गरी परियोजना
कार्यान्वयनको प्रस्ताव आव्हान गर्नेछः–
(क) प्रस्ताव सम्बन्धी कागजात भए सो खरिद गर्ने ठाउँ र सोको
दस्तुर,
(ख) प्रस्ताव पठाउने तरीका,
(ग) प्रस्ताव बुझाउने ठाउँ र मिति,
(घ) प्रस्ताव बुझाउने अन्तिम मिति,
(ङ) प्रस्ताव खोलिने ठाउँ र मिति,
(च) प्रस्ताव उपर निर्णय गरिने मिति,
(छ) प्रस्ताव मूल्याङ्कन गर्ने र छनौट गर्ने आधार,
(ज) अन्य आवश्यक कुरा ।
(२) उपनियम (१) बमोजिमको सूचना बोर्डको वेवसाईटमा पनि राखिनेछ र
त्यसलाई आवश्यकता अनुसार राष्ट्रियस्तरको पत्रपत्रिकामा समेत प्रकाशन गरिनेछ ।
(३) कार्यालयले प्रस्ताव सम्बन्धी कागजात तयार गरेको भए लगानीकर्ताले
त्यस्तो कागजात खरिद गरी कागजात अनुरुप प्रस्ताव पेश गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको कागजात खरिद गर्दा बोर्डले समय समयमा
निर्धारण गरेको दस्तूर लाग्नेछ ।