दफा १०
प्राकृतिक प्रकोप हुने वा हुन सक्ने जग्गामा निषेधित कार्य

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कसैले संरक्षित जलाधार क्षेत्रभित्रको जग्गा मध्ये बाढी वा पैह्रो आउने वा आउन सक्ने वा भू–क्षय वा भू–कटान हुने वा हुन सक्ने जग्गा भनी जलाधार संरक्षण अधिकृतले तोकिदिएको जग्गामा जलाधार संरक्षण अधिकृतको अनुमति नलिई कसैले देहायको कुनै कार्य गर्न पाउने छैन–

(क) कुनै खोला, नाला, खहरे, ताल वा जलाश्रयको वा भूमिगत पानी कुनै किसिमले थुन्ने वा जम्मा गर्ने वा थुनिएको वा जम्मा गरिएको पानी कूलो, सहायक कूलो, ढलद्वारा वा अन्य कुनै किसिमले अन्यत्र लैजाने वा फर्काउने वा त्यस्तो पानी त्यसरी थुनी, जम्मा गरी लगी, फर्काई वा अन्य कुनै किसिमले कुनै काममा प्रयोग गर्ने,

(ख) प्रचलित वन सम्बन्धी कानून बमोजिम आफूखुस गर्न पाउने रुख, विरुवा वा अन्य वनपैदावार काट्ने वा अन्य कुनै किसिमले नष्ट गर्ने,

(ग) भैरहेको वन जङ्गल, रुख, विरुवा, झारपात, घाँस वा अन्य प्राकृतिक वनस्पति काट्ने वा अन्य कुनै किसिमले नष्ट गर्ने,

(घ) ढुंङ्गा, माटो, बालुवा, हिलो आदि थुप्रिन तथा जम्मा हुन जाने काम गर्ने वा थुप्रिएको तथा जम्मा भएका ढुङ्गा, माटो, बालुवा, हिलो आदि बगाई लैजान दिने काम गर्ने,

(ङ) ढुङ्गा बालुवा, वा अन्य प्रकारको माटो खन्ने, झिक्ने वा लैजाने,

(च) फोहर मैला तथा यस्तै वातारवरण दूषित पार्ने खालको अन्य कसिंगरहरु फयाँक्ने वा त्यस्तो फोहर मैला र कसिंगरहरु थुपार्ने वा राख्ने ठाउँको निर्माण गर्ने,

(छ) उद्योग, व्यवसाय वा बसोबासको बस्ती स्थापना गर्ने,

(ज) गाई, भैंसी, भेडा, बाख्रा, कुखुरा र यस्तै अन्य घरपालुवा पशु तथा पंक्षीहरु लैजाने, राख्ने वा चराउने ।