दफा १६६
फैसला बमोजिमको रकम धरौटबाट असूल गर्ने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरदारले यस संहिता बमोजिम कुनै रकम धरौट राखेको भए त्यस्तो धरौटबाट पुगेसम्म पैसला बमोजिम निजले बुझाउनु पर्ने जरिबाना, बिगोे, क्षतिपूर्ति वा अन्य रकम असूल गर्न र भराई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम भराउँदा देहाय बमोजिमको प्राथमिकताक्रमको आधारमा भराई दिनु पर्नेछः–
(क) जरिबाना,
(ख)  सरकारी बिगो,
(ग) क्षतिपूर्ति,
(ग१) बिगो,
(घ) अन्य कुनै रकम भए त्यस्तो रकम ।
(३) उपदफा (१) बमोजिमको रकमबाट जरिबाना, बिगोे क्षतिपूर्ति वा अन्य रकम असुल नभएमा वा भराई दिन नसकिएमा त्यसरी नपुग भए जतिको लागि मात्र यस परिच्छेद बमोजिम कारबाही गरी असुल उपर गर्नु वा भराई दिनु पर्नेछ ।
(४) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरदारले फैसला बमोजिम बुझाउनु पर्ने जरिबाना, बिगोे, क्षतिपूर्ति वा अन्य कुनै रकम निजले तत्काल बुझाएकोमा वा उपदफा (१) मा उल्लेख भए बमोजिम असुल हुने भएमा बाहेक यो ऐन बमोजिम निजले वा निजको तर्फबाट अरु कसैले कुनै सम्पत्ति जमानत दिएको रहेछ भने सोही सम्पत्ति लिलाम बिक्री गरी भराई दिनु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरदारको हकमा कुनै ब्यक्तिले आफ्नाे सम्पत्ति धरौट वा जमानत दिएको रहेछ भने अदालतले त्यस्तो ब्यक्तिको सम्पत्ति लिलाम बिक्री गर्नुअघि निजलाई फैसला बमोजिम कसूरदारले बुझाउनु पर्ने जरिबाना, बिगो, क्षतिपूर्ति वा अन्य रकम बुझाउन पैँतालीस दिनको सूचना दिनु पर्नेछ र त्यस्तो समयभित्र निजले त्यस्तो रकम बुझाएमा निजले धरौट वा जमानत दिएको हदसम्मको सम्पत्ति फुकुवा गरिदिनु पर्नेछ ।
(६) उपदफा (३) बमोजिमकोे सम्पत्तिबाट भराउन नपुग भएको बाँकी रकमको हकमा कसूरदारको अरु सम्पत्ति लिलाम बिक्री गरी भराई दिनु पर्नेछ र त्यसरी भराउँदा उपदफा (२) बमोजिमको प्राथमिकता दिई भराई दिनु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम लिलाम गर्ने प्रयोजनका लागि कसूरदारको अंश छुट्टिएको रहेनछ भने निजको हकमा कानून बमोजिम अंश भाग छुट्याई लिलाम गर्नु पर्नेछ ।