दफा १६
बयान लिने र सोधपूछ गर्ने
(१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूरको सम्बन्धमा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष अभियुक्तको बयान लिनेछ ।
(२) उपदफा (१) बमोजिम बयान लिँदा कसूरको सम्बन्धमा खुलाउनु पर्ने आवश्यक कुरा सोध्ने अधिकार सरकारी वकिललाई हुनेछ ।
(३) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कुनै कसूरको सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएको ब्यक्तिसँग अनुसन्धान अधिकारीले आवश्यक सोधपुछ गर्न सक्नेछ ।
तर बालबालिका वा शारीरिक रुपमा असमर्थ भएको ब्यक्तिसँग सोधपुछ गर्नु परेमा निज रहे बसेकै ठाउँमा नै गई सोधपुछ गर्न सकिनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “शारीरिक रुपमा असमर्थ” भन्नाले हिँडडुल गर्न नसक्ने, दृष्टिविहीन, वृद्ध अवस्था जस्ता शारीरिक रुपमा असमर्थ ब्यक्तिलाई सम्झनु पर्छ ।
(४) उपदफा (३) बमोजिम सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले त्यसरी सोधपुछ गरेको कुरा अनुसूची–११ बमोजिमको ढाँचामा लेखबद्ध गरी सम्बन्धित मिसिलमा राख्नु पर्नेछ ।
(५) यस दफा बमोजिम बालबालिका वा शारीरिक रुपमा असमर्थ ब्यक्तिबाट कुनै कागज गराउनु पर्ने भएमा निजको संरक्षक वा उपलब्ध अन्य ब्यक्तिको रोहवरमा गराउनु पर्नेछ ।
(६) यस दफा बमोजिम बयान वा सोधपुछ गर्नु पर्ने कुनै ब्यक्ति शारीरिक अस्वस्थताको कारणले अनुसन्धान अधिकारी समक्ष उपस्थित हुन नसक्ने भएमा वा त्यस्तो ब्यक्तिको सुरक्षाको कारणले निजलाई त्यस्तो अधिकारी समक्ष उपस्थित गराउन उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले श्रव्य दृष्य सम्वाद (भिडियो कन्फरेन्स) को माध्यमबाट त्यस्तो ब्यक्तिसँग बयान लिन वा सोधपुछ गर्न सक्नेछ ।
(७) उपदफा (६) बमोजिम बयान लिएको वा सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले सोको अभिलेख राख्ने व्यवस्था गर्नु पर्नेछ ।