दफा १७
बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व
: (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले प्रेषकबाट बहुविधिक ढुवानी करार बमोजिम मालसामान बुझिलिएपछि दफा १६ बमोजिम मालसामान हस्तान्तरण नगरेसम्म मालसामान उपरको सम्पूर्ण दायित्व निजको हुनेछ ।
(२) बहुविधिक ढुवानी करारको परिपालनाको सिलसिलामा बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिबाट हुन गएको कुनै पनि कार्यप्रति बहुविधिक ढुवानी सञ्चालनकर्ता स्वयं जवाफदेही हुनेछ ।
(३) उपदफा (१) वा (२) को सर्वमान्यतामा प्रतिकूल नहुने गरी बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी, निजको अधिकारप्राप्त प्रतिनिधि वा करार बमोजिम निजसँग सेवालिने अन्य कुनै व्यक्तिले बहुविधिक ढुवानी करार बमोजिम ढुवानीका लागि जिम्मा लिएको
मालसामान हराएमा, हानि नोक्सानी वा क्षति भएमा वा बहुविधिक ढुवानी करार बमोजिम निर्धारित अवधिभित्र प्रापकलाई हस्तान्तरण नगरेको कारणबाट प्रेषक वा प्रापकलाई हुन गएको मनासिब हानि, नोक्सानी वा क्षतिको लागि बहुविधिक ढुवानी सञ्चालनकर्ता स्वयं जवाफदेही हुनेछ र सो बापत निजले क्षतिपूर्ति दिनु पर्नेछ ।
तर बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी, निजको प्रतिनिधि वा करार बमोजिम निजसँग सेवा लिने अन्य कुनै व्यक्तिको दोष वा हेलचेक्राइबाट त्यस्तो हानि नोक्सानी वा क्षति नभएको कुरा प्रमाणित गरेमा बहुविधिक ढुवानी सञ्चालनकर्ता क्षतिपूर्ति दिन बाध्य हुने छैन ।