नियम ८१
बालकल्याण अधिकारी
(१) प्रत्येक स्थानीय तहले बालबालिकाको अधिकारको सम्मान, संरक्षण र संवर्द्धन तथा बाल संरक्षणको कार्य गर्नको लागि एकजना बालकल्याण अधिकारी नियुक्त गर्नेछ ।

(२) उपनियम (१) बमोजिम नियुक्त हुने बालकल्याण

अधिकारीको योग्यता देहायबमोजिम हुनु पर्नेछ:-

(क) नेपाली नागरिक,

(ख) नगरपालिकाको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा कानून वा सामाजिक अध्ययन विषयमा स्नातक वा. सो सरहको उपाधि हासिल गरी बाल अधिकार वा बाल संरक्षणको क्षेत्रमा काम गरेको अनुभव र गाउँपालिकाको लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको उपाधि हासिल गरी बाल अधिकार वा बाल संरक्षणको क्षेत्रमा काम गरेको अनुभव भएको,

(ग) एक्काइस वर्ष उमेर पूरा भएको,

(घ) नैतिकपतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको, (ङ) बाल अधिकार हनन्‌ तथा भ्रष्टाचारको कसूरमा सजाय नपाएको,

(च)। सरकारी तथा अर्धसरकारी निकायसँग कुनै बाँकी बक्यौता नरहेको,

(छ) नियुक्त हुँदाको बखत राजनीतिक दलको सदस्य नरहेको ।

(३) बालकल्याण अधिकारीले स्थानीय बालअधिकार समितिको सदस्य-सचिवको रूपमा काम गर्नेछ ।

(४) उपनियम (१) बमोजिम बालकल्याण अधिकारीको नियुक्ति नभएसम्म वा कुनै. कारणले सो पद रिक्त भएको अवस्थामा प्रत्येक स्थानीय तहले महिला तथा बालबालिका सम्बन्धी विषय हेर्ने कर्मचारीलाई बालकल्याण अधिकारी तोक्न सक्नेछ ।

(५) नगरपालिकामा नियुक्त हुने बाल कल्याण अधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा अधिकृतस्तर छैठौं तह र गाउँपालिकामा नियुक्ति हुने बाल कल्याण अधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सहायकस्तर पाँचौ तह सरह हुनेछ ।