दफा ११
मतदान अधिकृतको नियुक्ति
(१) निर्वाचन अधिकृतले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई मतदान अधिकृत वा सहायक मतदान अधिकृत नियुक्ति गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मतदान अधिकृत वा सहायक मतदान अधिकृत नियुक्ति गर्दा कर्मचारीको हकमा आफ्नो घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा र शिक्षकको हकमा कार्यरत स्थान र आफ्नो घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा नपर्ने गरी नियुक्ति गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त मतदान अधिकृत र सहायक मतदान अधिकृतले यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको आदेशले तोके बमोजिमको मतदान गराउने सम्बन्धी सम्पूर्ण काम स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु पर्नेछ ।
(४) मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार आयोगले जारी गरेको आदेश, निर्देशन र निर्देशिकामा उल्लेख भए बमोजिम हुनेछ ।