दफा १९
मुचुल्का खडा गर्दा रोहवरमा राख्नु पर्ने
(१) कुनै कसूर भएकोमा अनुसन्धान अधिकारीले त्यस्तो कसूरको वारदातको वास्तविक र यथार्थ तथ्य चित्रण हुने गरी घटनास्थल मुचुल्का तयार गर्दा दफा ८ को उपदफा (२), (३) र (४) बमोजिम गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम घटनास्थल मुचुल्का तयार गर्दा वा कुनै ब्यक्ति वा वस्तु वा ठाउँको खानतलासी लिँदा वा ज्यान मरेको कसूर भएकोमा लाश जाँच गर्दा वा अन्य कुनै कसूर भएकोमा त्यस्तो कसूरको प्रकृति अनुसार आवश्यक मुचुल्का खडा गर्दा त्यस्तो ठाउँमा तत्काल उपलब्ध कम्तीमा दुई जना स्थानीय ब्यक्ति र स्थानीय तहका एक जना सदस्य वा त्यस्तो सदस्य उपलब्ध नभए कुनै सरकारी कार्यालयको एक जना कर्मचारी भए निजलाई र फेला परेसम्मका अभियुक्त र कसूरको सूचना दिने ब्यक्तिलाई समेत रोहवरमा राख्नु पर्नेछ ।
तर अभियुक्त वा कसूरको सूचना दिने ब्यक्ति रोहवरमा नराखेको कारणले मात्र त्यस्तो घटनास्थल मुचुल्का वेरितको भएको मानिने छैन ।
(३) कुनै ब्यक्तिको स्वामित्व वा जिम्मामा रहेको कुनै ठाउँको खानतलासी लिँदा उपलब्ध भएसम्म त्यस्तो ब्यक्तिलाई समेत रोहवरमा राख्नु पर्नेछ ।