दफा ५२
मुद्दा दायर भएपछि अदालतले कारबाही प्रारम्भ गर्नुपर्ने
(१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै कसूरका सम्बन्धमा यस परिच्छेद बमोजिम अदालतमा मुद्दा दायर भएपछि अदालतले त्यस्तो मुद्दाको कारबाही प्रारम्भ गर्नु पर्नेछ ।
तर,
(क) अदालतको आदेशको अवज्ञा गरेको वा अरु कुनै किसिमले अदालतको अवहेलना गरेको कसूरमा अदालतले अभियुक्तको ठाडो बयान लिएर वा लिखित स्पष्टीकरण मागेर वा अन्य कुनै निवेदन वा प्रतिवेदनबाट पनि मुद्दाको कारबाही प्रारम्भ गर्न सक्नेछ ।
(ख) कुनै मुद्दामा अदालतले प्रमाण बुभ्mदा कुनै पक्षले कुनै प्रमाणलाई जालसाँजी वा कीर्ते भनी बयान गरेकोमा सोही बयानको आधारमा लिखत कीर्ते वा जालसाजीको कसूरमा वा सो कसूर गर्न दुरुत्साहन दिएको, आपराधिक षडयन्त्र गरेको वा मतियार भएको कसूरमा सोही मिसिलबाट मुद्दाको कारबाही प्रारम्भ गर्न सकिनेछ ।
(२) अपराध संहिताको भाग–२ को परिच्छेद–३ को दफा ८१, ८२ परिच्छेद–४ को दफा ८९, ९०, ९१, ९२, ९३, ९७, ९८, १०० मा उल्लिखित कुनै कसूर गरेको, त्यस्तो कुनै कसूर गर्न दुरुत्साहन दिएको, अपराधिक षडयन्त्र गरेको वा मतियार भएको अभियोगमा उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख) बमोजिम मुद्दाको कारबाही प्रारम्भ भएकोमा बाहेक अदालतले सम्बन्धित ब्यक्तिको निवेदन, प्रतिवेदन, बयान वा कुनै छुट्टै उजुरीको आधारमा मुद्दा चलाउन न्यायोचित ठहराई कारण सहितको आदेश पर्चा खडा गरी मुद्दाको कारबाही प्रारम्भ गर्न सक्नेछ ।
(३) उपदफा (२) मा उल्लिखित मुद्दाको कारबाही र किनारा मूल कसूर सम्बन्धी मुद्दा साथै राखी गर्नु पर्नेछ ।
(४) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा सम्बन्धित विभागीय प्रमुखको लिखित स्वीकृति भएकोमा बाहेक नेपाल सरकारको कुनै कर्मचारी उपर निजले आप्mनो ओहदाको कर्तव्य पालनाको सिलसिलामा गरेको कुनै कामको सम्बन्धमा निज उपर कुनै कसूरको अभियोग लगाई मुद्दा चल्ने छैन ।
तर कुनै कर्मचारीले आफ्नाे ओहदाको कर्तव्यभन्दा बाहिरको कुनै काम गरी कुनै कसूर गरेमा निज उपर त्यस्तो कसूरको अभियोग लगाई मुद्दा चलाउन नेपाल सरकारको वा सम्बन्धित विभागीय प्रमुखको स्वीकृति लिनु पर्ने छैन ।
(५) अनुसूची–१ र अनुसुची–२ अन्तर्गतका कसूरको सम्बन्धमा सरकारी वकिलबाट अभियोगपत्र पेश नगरी कुनै ब्यक्ति उपर मुद्दा चल्ने छैन ।
तर दफा ३४ को उपदफा (७) मा उल्लिखित विषयमा सोही बमोजिम  हुनेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरबाट हुन गएको क्षति पूर्तिका लागि देहायको ब्यक्तिले अभियोग पत्र पेश गरेको साठी दिनभित्र छुट्टै उजुरी दिन सक्नेछ–
(क) कसूरबाट क्षति पुगेको ब्यक्ति,
(ख) आफ्नाे नोकरीको सिलसिलामा अन्यत्र खटिएको वा विदेशमा रहेको राष्ट्रसेवकले उजुर गर्न पर्ने कुराको सम्बन्धमा निजको नजिकको कुनै हकवाला,
(ग) कुनै ब्यक्तिले कुनै पद, ओहदा वा अन्य कुनै हैसियतले गर्नु पर्ने कुनै काम वा संरक्षण गर्नु पर्ने कुनै कुराको सम्बन्धमा त्यस्तो पद, ओहदा वा हैसियतमा रहेको ब्यक्ति,
(घ) अपाङ्गता भएको ब्यक्ति, बालबालिका वा पचहत्तर वर्ष उमेर नाघेको ब्यक्ति वा शारीरिक वा मानसिक रोगले असमर्थ भएको ब्यक्तिले उजुर गर्न पाउने कुराको सम्बन्धमा निजको एकाघरको हकवाला र त्यस्तो हकवाला नभए अन्य कुनै हकवाला वा संरक्षक,
(ङ) कसूरबाट कुनै सङ्गठित संस्थालाई क्षति पुगेकोमा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने अधिकार प्राप्त सञ्चालक वा सदस्य, प्रशासक वा प्रमुख कार्यकारी अधिकृत ।