नियम
म्याद जारी गर्ने
(१) नियम ८ बमोजिम अभियोगपत्रसाथ प्रतिवादी उपस्थित भएकोमा
बाहेक न्यायाधिकरणमा दायर भएको मुद्दामा प्रतिवादीका नाममा म्याद जारी गर्दा बाटाको
म्याद बाहेक पन्ध्र दिनको अवधि तोकि अनुसूची–१ बमोजिमको ढाँचामा जारी गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्दा प्रतिवादी वा निजका
एकाघर परिवारका उमेर पुगेका कुनै सदस्यलाई बुझाइ तामेल गर्नुपर्नेछ । प्रतिवादी वा
निजको एकाघर परिवारको उमेर पुगेको कुनै सदस्य फेला नपरेमा वा फेला परे पनि
म्याद बुझिलिन इन्कार गरेमा सोही व्यहोरा जनाइ स्थानीय दुईजना व्यक्तिलाई रोहवरमा
राखी प्रतिवादीको घर वा डेराको ढोकामा म्याद टाँस गरिदिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्न जाने कर्मचारीले
प्रतिवादीको घर डेरा पत्ता नलागेमा सोही व्यहोरा जनाई सम्बन्धित स्थानीय निकायको
कुनै सदस्य वा प्रतिनिधि वा कुनै दुईजना स्थानीय व्यक्तिलाई रोहवरमा राखी त्यस्तो
म्याद गाउँ विकास समितिको हकमा सम्बन्धित गाउँ विकास समितिको कार्यालयमा र
नगरपालिकाको हकमा प्रतिवादीको घर भएको वडाको वडा कार्यालयमा र त्यस्तो वडा
कार्यालय नभएको अवस्थामा सार्वजनिक स्थानमा टाँस गर्नु पर्नेछ र सो बमोजिम म्याद
टाँस भएपछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
तर अभियोगपत्रमा गलत ठेगाना लेखिदिएको वा न्यायाधिकरणबाट गलत ठेगाना
उल्लेख गरेको कारणले प्रतिवादी वा निजको घर डेरा भएको स्थानभन्दा बेग्लै स्थानमा
म्याद टाँस भएको अवस्थामा रीतपूर्वक म्याद तामेल भएको मानिने छैन ।
(४) कुनै सङ्गठित संस्थाको नाममा जारी भएको म्याद तामेल गर्दा त्यस्तो
संगठित संस्थाको सञ्चालक वा व्यवस्थापक वा त्यस्तो संस्थाको प्रमुख व्यक्ति वा त्यस्तो
सङ्गठित संस्थाको अधिकारप्राप्त अधिकारीलाई म्याद बुझाइदिनु पर्नेछ । त्यस्तो व्यक्ति
फेला नपरेमा वा फेला परेपनि म्याद बुझि लिन इन्कार गरेमा सोही व्यहोरा जनाइ
दुईजना स्थानीय व्यक्तिलाई रोहवरमा राखी त्यस्तो सङ्गठित संस्थाको कार्यालयको ढोकामा
म्याद टाँस गर्नुपर्नेछ र यसरी टाँस भएकोमा रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सङ्गठित संस्थाको
नाममा जारी भएको म्याद तामेल गर्दा त्यस्तो सङ्गठित संस्थाको रजिष्टर्ड कार्यालयको
ठेगानामा हुलाक मार्फत रजिष्ट्री गरी पठाएमा वा त्यस्तो कार्यालयको टेलिफ्याक्सबाट वा
विद्युतीय ठेगानामा डिजिटल हस्ताक्षर सहित पठाएमा त्यस्तो म्याद रीतपूर्वक तामेल
भएको मानिनेछ ।
(६) उपनियम (२), (३) वा (४) बमोजिम म्याद तामेल गर्न जाने कर्मचारीले
बाटोको म्याद बाहेक तीन दिनभित्र म्याद तामेल गरिसक्नु पर्नेछ ।
(७) उपनियम (२), (३), (४) वा (५) बमोजिम म्याद तामेल हुन नसकेको
प्रतिवेदन पर्न आएमा वा न्यायाधिकरणबाट जारी भएको म्याद रेडियो, टेलिभिजन,
न्यायाधिकरणको वेभसाइट जस्ता विद्युतीय सञ्चार माध्यममा प्रसारण वा प्रकाशन वा
राष्ट्रियस्तरको कुनै दैनिक पत्रपत्रिकामा प्रकाशन गरेर म्याद तामेल गर्न उपयुक्त हुने
कुरामा स्रेस्तेदार विश्वस्त भएमा त्यस्तो म्याद सम्बन्धी सूचना सो बमोजिम प्रसारण वा
प्रकाशन गर्न सकिने छ । यसरी सूचना प्रसारण वा प्रकाशन भएको अवस्थामा त्यस्तोध
सूचना प्रसारण वा प्रकाशन भएको मितिले पाँचौ दिन पछि प्रतिवादीको नाउँमा यस
नियमावली बमोजिम रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।
(८) उपनियम (७) बमोजिम म्याद तामेल गर्दा लागेको खर्च न्यायाधिकरणले
सम्बन्धित पक्षबाट सरकारी बाँकी सरह असुल उपर गरी लिनेछ ।