नियम ३२
वन पैदावारको संकलन तथा बिक्री वितरण
(१) उपभोक्ता समूहले कार्य योजना बमोजिम प्राप्त हुने वन पैदावारको मात्र संकलन तथा बिक्री वितरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम काठ, दाउरा र अन्य वन पैदावार निकालेपछि उक्त वन क्षेत्रमा उपभोक्ता समूहले यथाशीघ्र वृक्षरोपण गर्ने र पुनरुत्थानको व्यवस्था मिलाउनु पर्नेछ ।
(३) उपभोक्ता समूहले वन पैदावारको बिक्री दरको जानकारी सम्बन्धित जिल्ला वन कार्यालयलाई दिनु पर्नेछ ।
(४) उपभोक्ता समूहले कार्ययोजना अनुसार वन पैदावारमा आधारित उद्योग संचालन गर्न
सक्ने भएमा जिल्ला वन अधिकृतको सिफारिसमा सम्बन्धित निकायको स्वीकृति लिई सामुदायिक वन क्षेत्र बाहिर त्यस्तो उद्योग संचालन गर्न सक्नेछ ।