नियम
वायुयान दर्ता

(१) नियम ४ बमोजिम वायुसेवा सञ्चालन गर्न अनुमति तथा प्रमाणपत्र प्राप्त वायुसेवा सञ्चालन संस्थाले खरीद गरी ल्याएको वा भाडामा ल्याएको वायुयान व्यापारिक प्रयोजनको लागि नेपाल अधिराज्यमा दर्ता गर्न चाहेमा एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची– १ मा उल्लेख भएको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) कुनै ब्यक्ति वा संस्थाले व्यापारिक प्रयोजन वाहेक नीजि प्रयोजनको लागि वायुयान दर्ता गर्न चाहेमा सो व्यक्ति वा संस्थाले एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरण खुलाई अनुसूची–१ मा उल्लिखित शुल्क संलग्न गरी
महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम वायुयान दर्ताको लागि कसैको दरखास्त पर्न आएमा महानिर्देशकले त्यस्तो दरखास्त उपर आवश्यक जाँचबुझ गरी गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्था र सम्बन्धित वायुसेवा सञ्चालन संस्थालाई प्रदान गरिएको वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्रमा उल्लिखित शर्तहरुको अधिनमा रही वायुयान दर्ता गर्ने आदेश दिने पर्नेछ । जुन प्रयोजनको लागि वायुयान दर्ता भएको छ सोहि प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम वायुयान दर्ता गर्ने निर्णय भएकोमा महानिर्देशकले एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा खडा गरिएको वायुयान दर्ता कितावमा वायुयान दर्ता गरी दरखास्तवालालाई एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा वायुयान दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दर्ता भएको वायुयानलाई नेपाली वायुयान मानिनेछ ।
(६) वायुयानको स्वामित्व वायुयान धनीको हुनेछ ।
(७) यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार र प्राधिकरणलाई बुझाउन पर्ने रकम नबुझाएसम्म कुनै पनि वायुयानको दर्ता गरिने छैन । साथै वायुसेवा सञ्चालन गर्न अनुमति तथा प्रमाणपत्र प्राप्त संस्थाले नेपाल सरकार र प्राधिकरणलाई बुझाउनु पर्ने रकम नबुझाएमा उक्त संस्थाको नयाँ वायुयान दर्ता गरिने छैन र दर्ता भै सकेका वायुयानको दर्ता खारेज गरिनेछ ।