दफा ६४
विदेशमा रहे बसेका अभियुक्तका नाममा पक्राउ पूर्जी जारी गर्न वा समाह्वान तामेल गर्न सकिने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अदालतमा विचाराधीन रहेको कुनै कसूरको अभियुक्त विदेशमा रहे बसेको भए त्यस्ता ब्यक्तिको नाममा पक्राउ पूर्जी जारी गर्नुपर्दा वा समाह्वान तामेल गर्नु पर्दा पारस्परिक कानून सहायता सम्बन्धी प्रचलित कानून बमोजिम त्यस्तो ब्यक्तिको नाममा पक्राउ पूर्जी जारी गर्न वा समाह्वान तामेल गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको पक्राउ पूर्जी वा समाह्वान तामेल भएको सूचना नेपाल सरकारलाई प्राप्त भएमा सोको जानकारी सम्बन्धित अदालतलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम जारी भएको पक्राउ पूर्जी वा समाह्वान तामेल हुन नसकेमा त्यस्तो पक्राउ पूर्जी वा समाह्वान नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गरी वा विद्युतीय सञ्चार माध्यममा प्रसारण गरी तामेल गर्न सकिनेछ ।
(४) उपदफा (१) बमोजिम पक्राउ पूर्जी जारी भएकोमा वा समाह्वान तामेल भएकोमा यसै संहिता बमोजिम जारी भएको वा तामेल भएको मानिनेछ ।
(५) उपदफा (१) बमोजिम पक्राउ पूर्जी जारी भई सम्बन्धित मुलुकको प्रहरीले अभियुक्तलाई पक्राउ गरी कुनै प्रहरी कार्यालयलाई हस्तान्तरण गरेमा निजलाई बाटोको म्याद बाहेक बढीमा चौबीस घण्टाभित्र यथाशिघ्र सम्बन्धित अदालतमा उपस्थित गराउनु पर्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम विदेशमा रहे बसेको ब्यक्तिको नाममा पक्राउ पूर्जी जारी हुन वा समाह्वान तामेल हुन नसकेकोमा सोही कारणले मात्र मुद्दाको कारबाही र किनारा गर्न बाधा पुगेको मानिने छैन ।