दफा ६६
विदेशी विनिमय संचिति
(१) बैंकले विदेशी विनिमय संचितिको परिचालन गर्नेछ । यस्तो संचिति सम्बन्धित विदेशी विनिमयमा अंकित हुनेछ र यस्तो संचितिमा देहायको सम्पत्ति समावेश हुनेछ ः–
(क)बैंकले जिम्मा लिएको वा बैंकको खातामा रहेको सुन तथा बहुमूल्य धातु ।
(ख)बैंकले जिम्मा लिएको वा बैंकको खातामा जम्मा रहेको विदेशी मुद्रा ।
(ग)बैंकको नाममा विदेशी केन्द्रीय बैंक वा अन्य विदेशी बैंक खातामा रहेको विदेशी मुद्रा ।
(घ)बैंकको नाममा अन्तर्राष्ट्रिय मुद्रा कोषमा जम्मा रहेको स्पेशल ड्रइड्ड राईट्स (एस.डि.आर) ।
(ङ) बैंकको जिम्मामा रहेको विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै ऋणी वा दायित्वकर्ताले जारी गरेको विनिमयपत्र, प्रतिज्ञापत्र, बचत ऋण पत्र, बण्ड तथा अन्य ऋण सुरक्षण ।
(च)तत्काल वा पुनर्खरिद गर्ने गरी विदेशी बैंक वा अन्तर्राष्ट्रिय वित्तीय संस्थासंग वा ती संस्था जमानी बसेको र भबिष्यमा खरिद गर्ने गरी बैंक तथा अर्को पक्ष बीच विदेशी विनिमयमा भुक्तानी हुने गरी भएको सम्झौता ।
(२) बैंकले उपदफा (१) बमोजिमको सम्पत्तिको चयन गर्दा बैंकको पुँजी र तरलताको सुरक्षालाई ध्यानमा राखी अधिकतम आम्दानी हुने किसिमले गर्नु पर्नेछ ।
(३) बैंकले मौद्रिक तथा विदेशी विनिमय नीति कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय कारोबारमा शिघ्र भुक्तानीको लागि आवश्यक पर्ने यथोचित अन्तर्राष्ट्रिय संचिति कायम गर्नु पर्नेछ ।
(४) अन्तर्राष्ट्रिय संचितिको मात्रा घटेको वा घट्ने अवस्थामा पुगेको कारणबाट मौद्रिक तथा विदेशी विनिमय नीति कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय कारोबारमा शीघ्र भुक्तानीको प्रकृयामा प्रतिकुल असर पर्न जाने आशंका बैंकलाई लागेमा बैंकले अन्तर्राष्ट्रिय संचितिको वर्तमान स्थिति, सो घटेको र घट्नुको कारणका साथै सो को रोकथाम गर्न अपनाउनु पर्ने उपाय समेत खुलाई नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नेछ ।
(५) उपदफा (४) बमोजिमको स्थितिमा सूधार नआएसम्मको लागि बैंकले आवश्यकता अनुसार थप सूझाव सहितको प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष पेश गर्नेछ ।
(६) उपदफा (१) बमोजिमको विदेशी विनिमय संचितिलाई बंैकले आफनो वासलातमा देखाउनेछ ।